पढाइ र घरखर्च चलाउन धादिङका युवा म्याग्दीमा सुन्तला टिप्दै

422 पटक पढिएको

३ पुष २०८२, बिहीबार ०७:४० सम्पादक: धादिङ न्यूज

म्याग्दी । सुन्तला टिप्ने मौसमी रोजगारीको खोजीमा धादिङका युवा म्याग्दी आइपुगेका छन् । विद्यालय तथा क्याम्पस तहमा अध्ययनरत उनीहरू पढाइ र घरखर्च चलाउनका लागि यहाँका सुन्तला बगैँचामा काम गर्दै आएका हुन् ।

मङ्सिर, पुस र माघ महिनामा म्याग्दीका बगैँचामा सुन्तला टिप्ने उनीहरू भदौ, असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्ने काममा संलग्न हुने गर्छन् । यसरी वर्षभरि मौसमी काम गर्दै पढाइलाई निरन्तरता दिने उनीहरूको भनाइ छ ।

झण्डै २० जनाको समूहमा गाउँकै ठेकेदारमार्फत बेनी नगरपालिका–४ बास्कुनामा सुन्तला टिप्न आएका धादिङको रुबीभ्याली गाउँपालिका–५ रिका दिलीप घलेले मौसमी रोजगारीले ठूलो सहयोग पुगेको बताए ।
“पढाइ र घरखर्च चलाउनका लागि सुन्तला टिप्न आएको हुँ,” उनले भने, “तीन महिना काम गरेर फर्किएपछि ११ कक्षाको पढाइलाई निरन्तरता दिन्छु।”

यहाँका बगैँचामा सुन्तला टिप्न आउनेमध्ये अधिकांश मजदुर धादिङ र गोरखा जिल्लाका छन् । जिल्लाभर २०० भन्दा बढीले सुन्तला टिप्ने कामबाट रोजगारी पाएको बताइएको छ । अहिले सुन्तला टिप्ने, ग्रेडिङ गर्ने तथा बजार पठाउने काममा किसान र मजदुरलाई भ्याइनभ्याइ छ ।

सुन्तला टिप्ने मजदुरले खाना सहित मासिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म वा दैनिक ७ सयदेखि ८ सय रुपैयाँ ज्याला पाउने गरेका छन् । बोटबाट सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, गाडीमा लोड–अनलोड गर्न पर्याप्त मजदुर आवश्यक पर्ने बेनी–३ राखुकी भवीकला रानाले बताइन् । यसबाट स्थानीयसहित अन्य जिल्लाका मजदुरले पनि रोजगारी पाएका छन् ।

कृषि विकास कार्यालयका अनुसार गत वर्ष म्याग्दीबाट चार हजार ७८१ मेट्रिक टन सुन्तला बिक्री भई करिब ३३ करोड रुपैयाँ आम्दानी भएको थियो । जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती रहेकामा ४२५ हेक्टरमा फल लाग्ने गरेको छ । कार्यालय प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष पनि गत वर्षकै हाराहारीमा उत्पादन हुने अनुमान गरिएको जानकारी दिए ।

राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङ क्षेत्रमा २०० भन्दा बढी सुन्तला बगैँचा रहेका छन् । म्याग्दीका सुन्तला बेनी, काठमाडौं, पोखरा, मुग्लिनलगायतका बजारमा बिक्री हुने गरेका छन् । यातायात सुविधा भएकाले व्यापारीहरू गाडी लिएर बगैँचामै सुन्तला किन्न आउने गरेका छन् ।


Just checked out 939bet5, and it’s pretty neat! Smooth interface and decent selection. Gonna give it a whirl and see if luck is on my side. Fingers crossed! Check it out here: 939bet5