मौरी, कफी र आत्मविश्वासमा अडिएको बासुदेव सिलवालको संघर्ष

468 पटक पढिएको

६ पुष २०८२, आईतवार ०७:१७ सम्पादक: धादिङ न्यूज

  • केशव अधिकारी

धादिङ । सिद्धलेक गाउँपालिका–१ पिपलनलाङका ५५ वर्षीय बासुदेव सिलवाल स्वदेशमै कृषि र मौरीपालनबाट आत्मनिर्भर बन्न सकिने उदाहरणका रूपमा उभिएका छन्। उनले आफ्ना १२ रोपनी खेतबारीमा ४२ प्रकारका फलफूल र २ हजार बोट कफी रोपेका छन्। पछिल्लो १० वर्षदेखि फलफूल खेती गर्दै आएका सिलवाल १८ वर्षदेखि निरन्तर मौरीपालन व्यवसायमा संलग्न छन्।

परम्परागत घारबाट सुरु भएको मौरीपालनलाई व्यवसायिक रूपमा अघि बढाउन गुरु केशव प्रसाद अर्यालको प्रेरणा र मार्गदर्शन निर्णायक बनेको सिलवाल बताउँछन्। गुरुको योगदानप्रति उनी आज पनि भावुक हुन्छन् र सफलताको श्रेय गुरुको सल्लाह र परामर्शलाई दिन्छन्।

हाल सिलवालको बारीमा मिश्रित फलफूल फुलिरहेका र फलिरहेका छन्। तर मौरीपालन सहज व्यवसाय भने होइन। फलफूल खेतीमा प्रयोग हुने विषादी मौरीका लागि मुख्य चुनौती बनेको छ। मौरीले विषादी मिसिएको रस ल्याए घारभित्रका सबै मौरी नष्ट हुने जोखिम रहने उनी बताउँछन्।

२०७३ सालमा यस्तै कारणले उनका ६३ वटा घारसहितका मौरी नष्ट हुँदा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको थियो। त्यतिबेला घारसहित मौरी बिक्री गरेको भए प्रतिघार १० हजार रुपैयाँसम्म पाउने थिए । यसरी एकै पटक ठूलो क्षती हुंदा केही समय बिरक्तिएका वासुदेव फेरी सम्हालिएर पुनः मौरीपालन तर्फ लागेर अहिलेको अवस्थामा आईपुगेका हुन् । उनले पेशा परिवर्तन गरेनन्। निरन्तर संघर्ष र लगनशीलताकै परिणामस्वरूप अहिले उनको घरमा १ सय ४८ घार मौरी छन्।

सिलवालको व्यवसायमा परिवारको साथ महत्वपूर्ण रहेको छ। विशेषगरी उनकी श्रीमती झम्ककुमारी सिलवालले निरन्तर साथ दिँदै आएकी छन्।

सन २००७ देखि २०११ सम्म इजरायलमा स्तरीय होटलमा सेफका रूपमा काम गरेका सिलवाल राम्रो आम्दानी हुँदाहुँदै पनि सन्तुष्ट हुन सकेनन्। इजरायलको मरुभूमिमा ट्यांकरबाट पानी ल्याएर सिँचाइ गरी हरियाली बनाइएको र तरकारी खेती गरिएको देखेपछि उनले स्वदेशमै कृषि सम्भव रहेको विश्वास गरे। सोही विश्वासका साथ सुविधासम्पन्न जागिर छाडेर उनी नेपाल फर्किएका हुन्।

मौरीपालनको दीर्घकालीन विकासका लागि विषादीको प्रयोग नियन्त्रण आवश्यक रहेको उनी बताउँछन्। साथै, गाउँमै केही गर्छु भन्ने किसानलाई स्थानीय सरकारले पर्याप्त प्रोत्साहन दिन नसकेकोप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्। सिद्धलेक गाउँपालिकासँग पटक–पटक अनुरोध गर्दा पनि अपेक्षित चासो नदेखिएको उनको गुनासो छ।

“प्रत्येक किसानलाई नगद सहयोग दिनुपर्छ भन्ने मेरो माग होइन,” सिलवाल भन्छन्, “तर नीति बनाएर मौरीपालन क्षेत्र घोषणा गर्न सके किसानलाई ठूलो हौसला मिल्थ्यो।”

उनको चाहना कृषि तथा फलफूल खेतीलाई निर्वाहमुखी होइन, व्यवसायिक र सम्मानजनक पेशाका रूपमा स्थापित गर्नु हो। यसले वैदेशिक रोजगारीको बाध्यता घटाउने र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने उनको विश्वास छ।

सिलवालले उत्पादन गरेको कफी घरमै प्रशोधन गरी चिया तथा कफी विकास महासंघ, नुवाकोटमार्फत बिक्री–वितरण गर्दै आएका छन्।


777puborg? Hmm… This sounds like another online gambling place. I tried it once, and seemed alright, but nothing particularly wow’ed me either. Worth a try if you’re looking for a new place to spin. Find it at 777puborg!