धादिङबेसीको सुगमटोलमा हाईटेन्सन लाइनमुनि खुल्ला जिम हाउस निर्माण गरिंदै

829 पटक पढिएको

७ पुष २०८२, सोमबार २०:५५ सम्पादक: धादिङ न्यूज

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर–३ धादिङबेसीस्थित सुगमटोलमा खुल्ला जिम हाउस निर्माणको काम अघि बढाइएको छ। अरुण खोलाको किनारमा निर्माण भइरहेको उक्त स्थानमाथि ११ केभी (११ हजार भोल्ट) क्षमताको हाईटेन्सन प्रसारण लाइन रहेकाले संरचनाको सुरक्षाबारे गम्भीर प्रश्न उठेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ११ केभी जस्ता उच्च भोल्टेज प्रसारण लाइनको तल कुनै पनि किसिमको पक्की वा अस्थायी संरचना निर्माण गर्न पाइँदैन। प्राधिकरणले निर्धारण गरेको ‘राइट अफ वे’ (सुरक्षा क्षेत्र) भित्र घर, भवन, गोदाम, जिम, वा अन्य भौतिक संरचना बनाउन कानुनी रूपमा निषेध गरिएको छ।

निर्माण स्थल खोलाको किनारमा समेत रहेको छ। भविष्यमा नीलकण्ठ नगरपालिकाले नगर करिडोर निर्माण कार्य अघि बढाएमा उक्त संरचना भत्किन सक्ने जोखिम रहेको स्थानीयले बताएका छन्। खोलाको बाढी जोखिम र हाईटेन्सन लाइनको विद्युतीय खतरा दुवैलाई बेवास्ता गरिएको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन्।

खोलाको जोखिम र हाईटेन्सन लाइन हुँदाहुँदै किन निर्माण गर्न लागिएको भन्ने जिज्ञासामा सुगमटोल विकास समितिका अध्यक्ष राजकुमार श्रेष्ठले नीलकण्ठ नगरपालिका वडा नम्बर–३ को वडा कार्यालयसँग समन्वय गरेर खुल्ला स्थानको सदुपयोग गर्न लागिएको बताए। बजार क्षेत्रमा खुल्ला जिम हाउस नरहेकाले स्थानीय नागरिकको स्वास्थ्य प्रवर्द्धनका लागि निर्माण थालिएको उनको भनाइ छ। वडा अध्यक्षबाट हाईटेन्सन लाइन छिट्टै हट्ने जानकारी प्राप्त भएकाले काम अघि बढाइएको उनले बताए।

यता, वडा अध्यक्ष राजकुमार श्रेष्ठले उक्त स्थान सार्वजनिक जग्गा भएको स्पष्ट पार्दै टोल विकास संस्थाले खुल्ला जिम हाउस र योग अभ्यास गर्ने स्थान बनाउने प्रस्ताव ल्याएपछि अनुमति दिइएको बताए। त्यहाँ रहेको हाईटेन्सन लाइन चाँडै हटाइने जानकारी आफूले पनि पाएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ।

तर, नेपाल विद्युत् प्राधिकरणको मापदण्डअनुसार उच्च भोल्टेज प्रसारण लाइनमुनि संरचना निर्माण गर्दा विद्युतीय झट्का लाग्ने, तारबाट झिल्का (आर्किङ) झर्ने, आगलागी हुने तथा मर्मतसम्भारमा अवरोध हुने जोखिम रहने प्राधिकरणको चेतावनी छ। नियम उल्लङ्घन गरी निर्माण गरिएका संरचना हटाउन प्राधिकरणले आदेश दिन सक्ने र सम्बन्धित व्यक्ति वा संस्थालाई कानुनी कारबाहीसमेत हुन सक्ने व्यवस्था रहेको छ।

विद्युत् ऐनले ३३, ६६ र १३२ केभी प्रसारण लाइन नजिक र मुनि कुनै पनि घर र संरचना निर्माण गर्न बन्देज गरेको छ।

स्थानीयवासीले स्पष्ट जोखिम न्यूनीकरण योजना बिना संरचना निर्माण गरिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। समयमै आवश्यक निर्णय नलिए भविष्यमाअनपेक्षित दुर्घटना हुन सक्ने उनीहरूको चिन्ता छ।

नीलकण्ठ नगरपालिकाले धादिङबेसी बजार क्षेत्र तथा आसपासका खोला र सार्वजनिक जग्गामा भइरहेको अवैध निर्माण कार्य तत्काल रोक्न २०७९ सालमा सार्वजनिक निर्देशन जारी गरेको थियो ।

नगरपालिकाको मिति २०७९ साल ०४ महिना १४ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार धादिङबेसी बजार क्षेत्रभित्र पर्ने थोपल खोला, अरुण खोला र आसी खोलाको सिमाना तथा आसपासका सरकारी र सार्वजनिक जग्गाको रेखांकन गरी खोला तथा सडकको मापदण्ड तोक्ने कार्य अघि बढाइने बताएको थियो ।

नगरपालिकाले सरकारी, सार्वजनिक तथा खोलाको जग्गामा पर्खाल, घर, टहरा निर्माण तथा कुनै पनि किसिमको अतिक्रमण कार्य तत्काल बन्द गर्न नगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको थियो ।

नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार यदि निर्देशनको अटेरी गरी निर्माण वा अतिक्रमण कार्य जारी राखिएको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४१ को उपदफा (१) र (२) बमोजिम सम्बन्धित संरचना भत्काइने र संरचना भत्काउँदा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित निर्माणकर्ताबाट असुल उपर गरी कानुनी कारबाही गरिने चेतावनी दिइएको थियो ।

नगरपालिकाको यो निर्णयले बजार क्षेत्रका खोला किनार तथा सार्वजनिक जग्गामा भइरहेको अव्यवस्थित निर्माण नियन्त्रण हुने अपेक्षा गरिएको भएपनि कार्यान्वयनमा आउन नसकेको सर्वसाधारणको गुनासो छ ।