रास्वपा–बालेन सहमति,उत्साहभन्दा बढी शंका

333 पटक पढिएको

१३ पुष २०८२, आईतवार ०६:४२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । “सिंहदरबार जलाइदिन्छु” भन्ने अभिव्यक्तिका कारण बारम्बार विवादमा पर्दै आएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको दाबी सार्वजनिक भएको छ।

फागुनमा हुने आम निर्वाचनलाई लक्षित रास्वपा–बालेन सहमति अनुसार बालेनलाई प्रधानमन्त्रीको अनुहार बनाइने र रवि लामिछाने रास्वपाको अध्यक्षकै भूमिकामा रहने उल्लेख छ।

यसले नेपाली राजनीतिमा तरंग त ल्याएको छ, तर उत्साहभन्दा बढी गहिरा शंका र प्रश्न जन्माएको छ।

बालेन साहको कार्यशैली लोकतान्त्रिक मूल्यसँग मेल खान्छ कि खाँदैन भन्ने बहस नयाँ होइन। उनका निर्णयहरू प्रायः सीमित घेराभित्र हुने, आलोचनाको सामना गर्न नचाहने, प्रेससँग असहज सम्बन्ध राख्ने र विवाद बढ्दा सम्पर्कविहीन हुने प्रवृत्तिले पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठ्दै आएको छ। लोकतन्त्र व्यक्ति, आवेग वा लहडबाट होइन, संस्था, प्रणाली र समन्वयबाट चल्ने व्यवस्था हो। “सिंहदरबार जलाइदिन्छु” भन्नु भावनात्मक रूपमा लोकप्रिय हुन सक्छ, तर सिंहदरबार चलाउनु जिम्मेवारी, धैर्य र संस्थागत परिपक्वता माग्ने काम हो।

उता, रास्वपाका अध्यक्ष रवि लामिछाने स्वयं पनि विवादरहित पात्र होइनन्। उनी लामो समयसम्म आम सञ्चार माध्यममार्फत अरूलाई आक्रामक रूपमा आलोचना गर्दै उदाएका नेता हुन्। नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेपछि पुनः नेपाल फर्किएर विवादित ढंगले राजनीतिमा प्रवेश गरेका लामिछाने गृह मन्त्री बनेको केही दिनमै गैर–नेपाली नागरिक भएको आरोपमा पद गुमाउन पुगे, जेलसमेत परे। दोस्रोपटक नेपाली नागरिकता लिएर चुनाव जितेपछि पुनः गृह मन्त्री बने पनि उनीमाथि सहकारी ठगीसम्बन्धी मुद्दा अझै चलिरहेको छ।

यस्ता गम्भीर कानुनी र नैतिक प्रश्नबीच रहेका व्यक्तिलाई ‘नयाँ राजनीतिक संस्कार’को प्रतीकका रूपमा प्रस्तुत गर्नु आफैंमा विरोधाभासपूर्ण देखिन्छ।

अध्यक्ष आफैं रहने र अर्कोलाई प्रधानमन्त्रीको अनुहार बनाउने भनिएको सहमतिले पनि रास्वपा व्यक्ति–केन्द्रित राजनीतिबाट मुक्त भएको सन्देश दिँदैन। नयाँ राजनीति भनेको पुरानै शैलीलाई नयाँ अनुहारमा प्याकेज गरेर बेच्नु होइन, संस्थागत परिपक्वता, आन्तरिक लोकतन्त्र र स्पष्ट उत्तरदायित्व देखाउनु हो।

बालेन साह प्रधानमन्त्रीका उम्मेदवार बन्ने हो भने शुभकामना। तर राजनीतिक दम छ भने सामाजिक सञ्जालको लोकप्रियतामा होइन, झापाजस्तो राजनीतिक रूपमा कठिन र प्रतिस्पर्धात्मक क्षेत्रबाट चुनाव लडेर देखाउनुपर्ने चुनौती उनीसामु खडा छ।

यी तस्बिर र दाबीहरू देखेर न कोही अत्यधिक उत्साहित हुनुपर्ने अवस्था छ, न निराश। किनकि नेपाली राजनीतिमा लाज, घिन र ‘असम्भव’ भन्ने शब्दहरू प्रायः अर्थहीन साबित हुँदै आएका छन्। परिवर्तन नाराबाट होइन, व्यवहार, जवाफदेहिता र परिणामबाट मात्र प्रमाणित हुन्छ।

सहमतिका बुँदाहरू

१. नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता।

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य हासिल गर्न आवश्यक नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयनमा समर्पित हुने।

३. बृहत् एकतापछि स्थापित हुने दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने, झण्डा निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो घण्टी रहने, चुनाव चिन्ह ‘घण्टी’ नै कायम रहने तथा केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने।

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।

५. पार्टीको संगठनात्मक संरचनालाई सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविको आधारमा जिम्मेवारी दिने।

६. आगामी आमनिर्वाचनपछि यस सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने।

७. रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य परिवर्तनकामी शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने।


Alright folks, let me tell you about 622betlogin. I’ve been using it for a while now, and the login process is super smooth. No crazy hoops to jump through, just straight to the action So, if you’re looking for a hassle-free experience, give this a try: 622betlogin