एमाले धादिङ नेतृत्वमा परिवर्तन, अर्जुन श्रेष्ठ कार्यबाहक अध्यक्ष नियुक्त

603 पटक पढिएको

२० पुष २०८२, आईतवार २०:३० सम्पादक: धादिङ न्यूज

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) लाई पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ।

आइतबार बसेको जिल्ला कमिटी बैठकले श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। जिल्ला कमिटीको नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भुमि त्रिपाठी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टी विधानअनुसार उपाध्यक्ष श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको एमाले धादिङले जनाएको छ।

भुमि त्रिपाठी २०५४ सालमा एमालेको जिल्ला सदस्य ,२०६० सालमा जिल्ला सचिव, त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालदेखि हालसम्म जिल्ला अध्यक्षको जिम्मेवारीमा  थिए। यसअघि  २०६९ फागुन १८–२० गते धादिङबेसीमा सम्पन्न पार्टीको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध चयन भएका खेम प्रसाद लोहनी  नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशन (असार १९ देखि साउन १, २०७१) काठमाडौंबाट लोहनी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भुमि त्रिपाठीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्षको जिम्मेवारी समेत त्रिपाठीले निर्वाह गरेका थिए। सोही अवधिमा उनी केही समय पार्टीको केन्द्रीय सदस्य समेत रहेका थिए। पछि नेकपालाई अदालतले मान्यता नदिएपछि त्रिपाठी पुनः एमाले धादिङको जिल्ला अध्यक्षको जिम्मेवारीमा फर्किएका थिए।

को हुन अर्जुन गोर्खाली?

कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका अर्जुन कुमार श्रेष्ठ पार्टीको जिल्ला सदस्य, जिल्ला सचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अनुभवी नेताका रूपमा चिनिन्छन्।

नीलकण्ठ नगरपालिका–३ का स्थानीय श्रेष्ठले २०४४ सालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका हुन्। राजनीति सँगसँगै विभिन्न सामाजिक तथा व्यावसायिक संघ–संस्थामा सक्रिय रहेका श्रेष्ठ २०५४ सालमा एमाले धादिङका नेता खेम प्रसाद लोहनी जिल्ला जिल्ला विकास समितिको सभापति हुँदा  उनका स्वकीय सचिव बनेका थिए।

श्रेष्ठ माइक्रोबस व्यवसायी संघ धादिङ र धादिङ यातायात व्यवसायी संघमा एक–एक कार्यकाल अध्यक्ष, खानेपानी मूल उपभोक्ता समिति, नीलकण्ठका उपाध्यक्ष, निर्माण व्यवसायी संघ धादिङका सदस्य,जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष र नेपाल भलिबल संघका केन्द्रीय सदस्य समेत भइसकेका छन्।

शैक्षिक क्षेत्रमा पनि सक्रिय रहेका श्रेष्ठ धादिङबेसीमा राम्रो नतिजा निकाल्दै आएको निजी विद्यालय एड्भान्स एकेडेमी धादिङ को सञ्चालक समितिका अध्यक्ष समेत रहेका छन्।

पार्टी जिम्मेवारीका हिसाबले उनी एमालेको तत्कालीन इलाका नं. ७ का सह–इन्चार्ज, जिल्ला कमिटी सदस्य, जिल्ला सचिव हुँदै उपाध्यक्ष बनेका हुन्। साथै, युवा संघ नेपालमा दुई कार्यकाल उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

यस्तै, आजै बसेको बैठकले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा सर्वसम्मत निर्वाचित डा. पुष्प कडेल, केन्द्रीय सदस्यमा निर्वाचित भुमि त्रिपाठी र डा. खेम प्रसाद लोहनीलाई सम्मान समेत गरेको छ।