माघ ११ को राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता

261 पटक पढिएको

२३ पुष २०८२, बुधबार ०७:३८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रमअनुसार आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका तय गरिएको छ।

यस्तै, पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ। पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन पाउनेछन् भने दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

त्यसैगरी, पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८–८ जना निर्वाचित हुने तथा ३ जना राष्ट्रपतिबाट मनोनित हुने प्रावधान रहेको छ।

प्रदेशबाट निर्वाचित हुने ८ जनामध्ये तीन जना महिला, एक जना दलित, एक जना अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट हुनुपर्ने व्यवस्था गरिएको छ भने बाँकी तीन जना खुला उम्मेदवार रहनेछन्।