सिद्धलेकमा करेन्ट लगाएर माछा मार्न पूर्ण प्रतिबन्ध
336 पटक पढिएको
धादिङ । सिद्धलेक गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका सबै नदी, खोला तथा जलस्रोतमा करेन्ट प्रयोग गरी माछा मार्ने कार्य पूर्ण रूपमा प्रतिबन्ध गरेको छ।
गाउँपालिकाका अनुसार करेन्ट लगाएर माछा मार्ने क्रममा विभिन्न समयमा गम्भीर दुर्घटना भई मानवीय क्षति समेत हुने घटनाहरू घट्दै आएका छन्। यस्ता गतिविधिले मानव जीवन, जलचर तथा वातावरणमा अपूरणीय क्षति पुर्याउने भएकाले तत्काल रोक लगाइएको जनाइएको छ।
सूचनामा उल्लेख भएअनुसार अब उपरान्त कसैले पनि करेन्ट प्रयोग गरी माछा मार्ने वा सो कार्यमा संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ। साथै यस्ता गतिविधि भएको जानकारी पाएमा जिल्ला प्रशासन कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय वा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन गाउँपालिकाले अनुरोध गरेको छ।
सार्वजनिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित यस विषयमा सबै नागरिकको सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ।
केही दिनअघि सिद्धलेक गाउँपालिका वडा नम्बर १ बैरेनी नजिकै थोपलखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको रहस्यमय मृत्यु भएपछि गाउँपालिकाले पुस २४ गते सार्वजनिक सूचना जारी गर्दै अब उपरान्त गाउँपालिका क्षेत्रभित्र करेन्ट प्रयोग गरी माछा मार्न पूर्ण रूपमा रोक लगाइएको जानकारी दिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यद्वारा जारी सूचनामा यदि कसैले जबर्जस्ती यस्ता गतिविधि गरेको पाइएमा तत्काल प्रहरीलाई खबर गर्न समेत सर्वसाधारणसँग अनुरोध गरिएको छ।








https://shorturl.fm/j4GH6