नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि सुरु हुँदै

314 पटक पढिएको

२७ पुष २०८२, आईतवार ०७:४० सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा आज र भोलि आयोजना हुने विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे हुने कार्यक्रम छ । तर पार्टीको संस्थापन पक्ष भने विशेष महाधिवेशनमा सहभागी नहुने भएको छ ।

विशेष महाधिवेशन उद्घाटनअघि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पाँच रुट हुँदै जुलुस निकालिने जनपरिचालन समितिले जनाएको छ । त्यसअनुसार विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरू बिहान ११ बजे सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी र कुपण्डोलमा भेला भएर जुलुससहित भृकुटीमण्डप पुग्नेछन् ।

विशेष महाधिवेशन पक्षधरहरूले संस्थापन पक्षले आफ्ना प्रस्तावको बेवास्ता गरेपछि विशेष महाधिवेशन गर्न बाध्य भएको बताएका छन् । आजदेखि सुरु हुने विशेष महाधिवेशनमा कुन–कुन केन्द्रीय नेताहरू सहभागी हुन्छन् भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएमा नेतृत्व परिवर्तन गर्ने, नभए नीतिगत निर्णयमार्फत विशेष महाधिवेशन सम्पन्न गर्ने रणनीति बनाएका छन् ।

अहिलेसम्म संस्थापन पक्षका वरिष्ठ नेता गोपालमान श्रेष्ठले आफू विशेष महाधिवेशनमा सहभागी हुने बताएका छन् । पार्टी एकताको पक्षमा वकालत गरिरहेका डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मालगायत नेताहरूले पनि सहभागिता जनाउने जानकारी आयोजकले दिएको छ ।

यद्यपि कांग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापतिहरूले विशेष महाधिवेशनको विरोध जनाएका छन् । पूर्व कृषि मन्त्रीसमेत रहेका नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीसहित ४७ जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका हुन् । उनीहरूले पार्टीको संविधानको संरक्षण गर्दै आगामी चुनावमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन् ।

तर विशेष महाधिवेशन आयोजक समितिले ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी हुने दाबी गरेको छ । कांग्रेसमा कुल ४ हजार ७३४ महाधिवेशन प्रतिनिधि छन् ।

महाधिवेशनस्थल भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने मञ्च निर्माण गरिएको छ भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको छ । आज उद्घाटनपछि बन्दसत्र पनि भृकुटीमण्डपको सभाहलमै हुने जनाइएको छ । बन्दसत्रमा नेतृत्व परिवर्तनको मुद्दा उठ्ने सम्भावना रहे पनि पार्टी विभाजनको जोखिमलाई ध्यानमा राख्दै संकल्प प्रस्तावमार्फत महाधिवेशन टुंग्याउने योजनामा महामन्त्रीद्वय देखिएका छन् ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान ८ बजेदेखि सुरु भएको छ । नाम दर्ताका लागि परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य गरिएको आयोजक समितिले जनाएको छ ।