पृथ्वीनारायण शाहका दिव्य उपदेश आज पनि सान्दर्भिक छन् : पूर्वराष्ट्रपति भण्डारी

260 पटक पढिएको

२७ पुष २०८२, आईतवार ०७:४४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिव्य उपदेश राष्ट्रिय एकता, आत्मनिर्भर तथा स्वावलम्बी अर्थतन्त्र र सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै भण्डारीले कलह, झगडा र अस्थिरताले थलिएर विकास गर्न नसकेका ससाना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु इतिहासको गौरवपूर्ण अध्याय भएको उल्लेख गरेकी छन् ।

उनले भनिन्, ‘नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

पूर्वराष्ट्रपति भण्डारीले नागरिकहरूको सल्लाह र सुझावलाई समेत समेट्दै एकीकरण प्रक्रियालाई जनआधारित राष्ट्रिय अभियानका रूपमा अघि बढाउने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व तथा हाम्रा वीर पुर्खाहरूको त्याग र बलिदानका कारण नै नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व सुरक्षित रहन सकेको ऐतिहासिक सत्यलाई आत्मसात गर्नुपर्नेमा जोड दिइन् ।

‘ऐतिहासिक एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर हामी आजको सार्वभौम, स्वतन्त्र र लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुगेका छौँ,’ उनले भनिन्, ‘हाम्रो पवित्र भूमि, इतिहास र संस्कृतिप्रति गौरव गर्दै पूर्वजप्रति कृतज्ञ हुनु हाम्रो कर्तव्य हो । इतिहासका सकारात्मक शिक्षाबाट आजको पुस्ताले मार्गदर्शन लिन सक्नु नै सभ्य समाजको पहिचान हो ।’

पूर्वराष्ट्रपति भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले देशभक्तिको भावना अझ सबल बनाउँदै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ गरोस् भन्ने कामना समेत व्यक्त गरेकी छन् । साथै राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सार्वभौमिकता र समृद्धिका लागि सबैमा प्रेरणा प्रदान होस् भन्ने उनको अपेक्षा रहेको छ ।