५० लाख बजेट कहाँ अड्कियो ? थोपलखोलाको झोलुङ्गे पुलमा किन मौन छ सिद्धलेक गाउँपालिका
539 पटक पढिएको
- केशव अधिकारी
धादिङ-धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ५ जोड्ने थोपलखोलामा झोलुङ्गे पुल नहुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्। वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा पुल निर्माणका लागि बजेट विनियोजन गरे पनि हालसम्म निर्माण प्रक्रिया सुरु नहुँदा स्थानीयमा निराशा बढ्दै गएको छ।
सिद्धलेक गाउँपालिका वडा नम्बर १ को कालुपाण्डे मार्गबाट वडा नम्बर ५ को टकटके गाउँ जोड्ने थोपलखोला हिउँदमा सामान्य देखिए पनि वर्षायाममा स्थानीयका लागि ठूलो अवरोध बन्दै आएको छ। खोलामा पानीको बहाव बढेपछि बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई आवत–जावत गर्न अत्यन्त जोखिमपूर्ण हुने गरेको स्थानीयको भनाइ छ।
स्थानीय मीन बहादुर घलेका अनुसार पुल नहुँदा वर्षायाममा फलेकको साँघु हुँदै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। २०७४ सालदेखि स्थानीय सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनको गुनासो छ।
पुलको अभावमा गाउँका बालबालिकाले घर नजिकैको विद्यालय पुग्न तीन किलोमिटरभन्दा बढी पैदल हिँड्नुपर्ने अवस्था छ। बिरामी परेमा समयमै स्वास्थ्य संस्थासम्म पु¥याउन नसक्दा ज्यान जोखिममा पर्ने गरेको स्थानीय रणबहादुर श्रेष्ठले बताए।
त्यसैगरी गाउँमा उत्पादन भएको तरकारी तथा अन्नबाली बजार लैजान र बजारबाट दैनिक उपभोग्य सामग्री गाउँ ल्याउन समेत समस्या भएको छ। धादिङबेसी–मलेखु सडक नजिकै रहे पनि झोलुङ्गे पुल नहुँदा बस्ती विकास र अवसरबाट पछाडि परेको स्थानीय सीतामाया घलेले बताइन्।
स्थानीयको निरन्तर मागपछि वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा थोपलखोला झोलुङ्गे पुल निर्माण शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, हालसम्म कुनै ठोस प्रक्रिया अघि नबढेकाले पुल निर्माण हुने विषयमा स्थानीयले शंका व्यक्त गरेका छन्।
स्थानीयका अनुसार पुल निर्माण भएमा करिब ५० भन्दा बढी घरधुरीका २०० भन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। बालबालिकाको शिक्षामा सहजता, बिरामी तथा ज्येष्ठ नागरिकको सुरक्षित आवत–जावत र स्थानीय आर्थिक गतिविधिमा सुधार आउने अपेक्षा गरिएको छ।









https://shorturl.fm/gB9En