समानुपातिक उम्मेदवारको नाम फिर्ता लिने आज अन्तिम दिन

281 पटक पढिएको

२८ पुष २०८२, सोमबार ०७:३४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने छन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पुस १३ र १४ गते पेस गरेको बन्दसूचीका उम्मेदवारले आयोगबाट स्वीकृत कार्यक्रमअनुसार उम्मेदवारी फिर्ता लिन पाउने व्यवस्था छ।

निर्वाचन आयोगका समानुपातिक निर्वाचन अधिकृत कृष्णबहादुर राउतले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराइसकिएको जानकारी दिनुभयो। आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने छ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ। कुनै कारणले उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य निर्वाचित हुने व्यवस्था छ।