गठबन्धन राजनीतिले महिला प्रतिनिधित्व कमजोर बनायो : पूर्वराष्ट्रपति भण्डारी
304 पटक पढिएको
धादिङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूबीचको गठबन्धन अभ्यासका कारण संविधानले सुनिश्चित गरेको महिला प्रतिनिधित्व व्यवहारमा कमजोर बनेको बताएकी छिन्। गठबन्धन केन्द्रित राजनीतिले महिलालाई उम्मेदवार बन्ने अवसरबाट पछाडि धकेलेको उनको भनाइ छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पुस ३० गते आयोजित सातौँ राष्ट्रपति रनिङ शिल्डसहित चारवटा खेलकुद प्रतियोगिताको संयुक्त उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले संविधानमा व्यवस्था गरिएको एक तिहाइ महिला सहभागिता प्रभावकारी रूपमा लागू हुन नसकेको उल्लेख गरिन्। “संविधान र कानुन भए पनि महिलाको सहभागिता व्यवहारमा देखिएन,” उनले भनिन्।
संघीयदेखि स्थानीय तहसम्म महिलाको उपस्थिति घट्दै जानु राजनीतिक दलहरूको प्राथमिकतामा महिला मुद्दा नपर्नुको परिणाम भएको उनको टिप्पणी छ। गठबन्धनको नाममा हुने भागबण्डाले महिलालाई निर्णय प्रक्रियाबाट बाहिर राख्ने प्रवृत्ति बढेको उनले बताइन्।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले खेलकुद कार्यक्रम स्वस्थ र सक्षम पुस्ता निर्माणको आधार भएको उल्लेख गर्दै पालिकाले प्राथमिकताका साथ लगानी गरिरहेको बताए। कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रदेशसभा सदस्य मायादेवी शर्मालगायतको उपस्थिति थियो।
यसअघि भण्डारीले काठमाडौं–नागढुंगा सुरुङ मार्गको अवलोकन गरेकी थिइन्। राष्ट्रिय गौरवको यस आयोजनाले उपत्यकाको यातायात व्यवस्थापन सहज बनाउने अपेक्षा गरिएको छ।








https://shorturl.fm/ruH7h