आज २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
241 पटक पढिएको
काठमाडौँ । आज देशभर २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो।
दिवसको मूल समारोह काठमाडौँ महानगरपालिका–स्थित खुल्लामञ्चमा आयोजना गरिँदैछ। आज बिहान वसन्तपुर क्षेत्रमा विभिन्न संघ–संस्थाको सहभागितामा भूकम्प सुरक्षा र्याली आयोजना हुने भएको छ। र्याली वसन्तपुरबाट सुरु भई आकाश भैरव, इन्द्रचोक, असन र भोटाहिटी हुँदै खुल्लामञ्च पुग्ने कार्यक्रम तय गरिएको छ।
र्यालीपश्चात प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मूल समारोह समितिको कार्यक्रम आयोजना गरिने जनाइएको छ। कार्यक्रममा भूकम्प जोखिम न्यूनीकरण, पूर्वतयारी तथा सुरक्षित अभ्यासबारे सन्देश प्रवाह गरिनेछ।
वि.सं. १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। सो दिन गएको ८.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो।







