धादिङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीलाई तीव्र बनाउँदै धादिङ जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रतिनिधिसभाका लागि धादिङमा दुईवटा निर्वाचन क्षेत्र कायम रहेकाले निर्वाचन क्षेत्र नं. १ र २ मा छुट्टाछुट्टै कार्यालय सञ्चालनमा ल्याइएको हो।
निर्वाचन क्षेत्र नं. २ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति धादिङको भवनमा स्थापना गरिएको छ। शुक्रबार मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश रामप्रसाद शर्माले उक्त कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो।
कार्यालय उद्घाटनका क्रममा मुख्य निर्वाचन अधिकृत शर्माले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी समयमै पूरा गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको बताउनुभयो। उहाँले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाको सहकार्य अपरिहार्य रहेको पनि उल्लेख गर्नुभयो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएसँगै निर्वाचन क्षेत्र नं. २ अन्तर्गत मतदान केन्द्र निर्धारण, मतदाता नामावली व्यवस्थापन, निर्वाचन सामग्रीको व्यवस्थापन, कर्मचारी परिचालनलगायत सम्पूर्ण प्रशासनिक तथा कानुनी प्रक्रिया यही कार्यालयमार्फत सञ्चालन हुने जनाइएको छ। यस निर्वाचन क्षेत्रमा रुवीभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी, ज्वालामुखी, नेत्रावती डवजोङ गाउँपालिका तथा नीलकण्ठ नगरपालिका पर्दछन्।
त्यस्तै निर्वाचन क्षेत्र नं. १ का लागि निर्वाचन अधिकृतको कार्यालय गल्छी गाउँपालिका–स्थित साविकको गाउँपालिका भवन महेशदोभानमा स्थापना गरिएको छ। निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार निर्वाचन प्रक्रिया शान्त, निष्पक्ष, सभ्य र सहज रूपमा सम्पन्न गराउने लक्ष्यसहित कार्यालय सञ्चालनमा ल्याइएको हो। उहाँले निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सबै सरोकारवालालाई सहयोग र समन्वय गर्न आग्रह गर्नुभएको छ।
निर्वाचन कार्यालयले आगामी दिनहरूमा मनोनयन दर्ता, प्रचार–प्रसार व्यवस्थापन, उजुरी तथा गुनासो व्यवस्थापनलगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्य यही कार्यालयमार्फत सञ्चालन गर्ने जनाएको छ। निर्वाचन क्षेत्र नं. १ अन्तर्गत धुनिबेसी नगरपालिका, थांक्रे, गल्छी, गजुरी, वेनिघाट रोराङ तथा सिद्धलेक गाउँपालिका पर्दछन्।







