नियोजित मिडिया प्रहारविरुद्ध तरुण दल धादिङका उपाध्यक्ष राधे आक्रोशित
380 पटक पढिएको
धादिङ – नेपाल तरुण दल धादिङका उपाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता राधाकृष्ण भण्डारी (राधे) ले आफूविरुद्ध नियोजित रूपमा गलत समाचार लेख्ने प्रवृत्तिप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आफू नेपाली काँग्रेसको विचार र आस्थामा दृढतापूर्वक हिँडिरहेको उल्लेख गरेका छन्। पार्टीभित्र परिवर्तनको पक्षमा उभिएर गगन थापासँग सहकार्य गर्दा केही नजिकका व्यक्तिहरू असन्तुष्ट बनेको र त्यसकै कारण आफूलाई लक्षित गरी भ्रामक सामग्री फैलाइएको उनको आरोप छ।
भण्डारीले भनेका छन् कि अहिले समाचार लेख्ने नाममा कृत्रिम बुद्धिमत्ता प्रयोग गरी आधारहीन सामग्री तयार गरेर चरित्र हत्या गर्ने प्रयास भइरहेको छ। “अब राधेको बारेमा नराम्रो केही नभएकाले नै गलत समाचार बनाइँदैछ,” उनले लेखेका छन्।
विगतमा व्यक्तिगत कारणले केही भूलचुक भए पनि अहिले आफू पूर्ण रूपमा सकारात्मक र पारदर्शी बाटोमा हिँडिरहेको उनले स्पष्ट पारेका छन्। देश र समाजका लागि काम गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै उनले गलत प्रचारले आफ्नो राजनीतिक यात्रा रोक्न नसक्ने बताएका छन्।
“सके देशका लागि राम्रो काममा लाग्छु, नसके कसैसँग पनि नलागी चुपचाप बस्छु। तर गलत समाचारले मेरो बाटो रोक्न सक्दैन,” भण्डारीको भनाइ छ।
उनले अन्त्यमा सत्य कहिल्यै नबदलिने उल्लेख गर्दै आफूविरुद्ध एआई प्रयोग गरेर खुट्टा तान्नेहरूलाई चेतावनीसमेत दिएका छन्।







