कांग्रेस धादिङ सभापति रामनाथ अधिकारीको गगन थापा नेतृत्वप्रति समर्थन

425 पटक पढिएको

४ माघ २०८२, आईतवार ११:३९ सम्पादक: धादिङ न्यूज

धादिङ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसप्रति समर्थन जनाएका छन्। अधिकारीले आइतबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको नयाँ नेतृत्वप्रति आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

पूर्वमन्त्री तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङका सभापति अधिकारीले पार्टीको विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै सभापतिमा निर्वाचित गगन थापा र उनको नेतृत्व टोलीलाई बधाई तथा शुभकामना दिएका छन्। कांग्रेस नेता शेखर कोइराला निकट मानिने अधिकारीले महाधिवेशनमार्फत नेतृत्व चयन भइसकेकाले अब पार्टी एकताबद्ध भएर आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

जारी विज्ञप्तिमा नेपाली कांग्रेस धादिङले विशेष महाधिवेशन तथा पार्टी सुधार र रूपान्तरणका क्रममा भएका बहस र गतिविधिलाई विचार–मन्थनको स्वाभाविक अभ्यासका रूपमा लिएको उल्लेख गरिएको छ। ती बहसबाट परिपक्व र सकारात्मक परिणाम निस्किएको विश्वास जिल्ला कार्यसमितिले व्यक्त गरेको छ।

विज्ञप्तिमा नेपाली कांग्रेस नेपालको लोकतन्त्र, जनअधिकार, नागरिक स्वतन्त्रता, संवैधानिक सर्वोच्चता, विधिको शासन तथा उदार अर्थनीतिको संस्थापक र संरक्षक पार्टी भएको उल्लेख गर्दै लोकतान्त्रिक राष्ट्रशक्तिको रूपमा कांग्रेसले समयानुकूल रूपान्तरण हुँदै देश र जनताको हितमा समर्पित रहनुपर्ने दायित्व रहेको जनाइएको छ।

सभापति अधिकारीले भ्रष्टाचारको अन्त्य, सुशासन तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गत भदौ २३ गते जेन्जी तथा नवयुवा पुस्ताले गरेको आन्दोलनको भावनालाई आत्मसात गर्दै पार्टीभित्र नीति र नेतृत्व परिवर्तन, रूपान्तरण र सुधारको एजेन्डासहित विशेष महाधिवेशन सम्पन्न भएको उल्लेख गरेका छन्। महाधिवेशनबाट नयाँ नीति निर्माण र नेतृत्व चयन भएको भन्दै जिल्ला कार्यसमितिले यसलाई सकारात्मक कदमको रूपमा लिएको छ।

विज्ञप्तिमार्फत पार्टीका धादिङ जिल्लाका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, पार्टी तथा भ्रातृ–शुभेच्छुक संस्थाका इकाइ, टोल तथा वडा कार्यसमिति, गाउँ–नगर कार्यसमिति, प्रदेश र जिल्ला तहका पदाधिकारी, महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधिहरूलाई एकताबद्ध भएर पार्टी संगठन विस्तार, सुदृढीकरण र सक्रियताका साथ अगाडि बढ्न आह्वान गरिएको छ।

साथै, आगामी फागुन २९ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीले तय गर्ने उम्मेदवारको पक्षमा जनतामाझ केन्द्रित भएर लाग्न जिल्ला कार्यसमितिले अपिल गरेको छ।

उल्लेखनीय छ, कांग्रेस नेता शेखर कोइराला निकट मानिएका अधिकारीले केही दिनअघि विशेष महाधिवेशनको औचित्य नरहेको भन्दै जिल्ला सभापतिहरूको तर्फबाट जारी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए। तर धादिङ जिल्लामा अधिकारी निकट अधिकांश नेताहरू गगन थापाको पक्षमा खुलेपछि उनमाथि नैतिक दबाब परेको अनुमान गरिएको छ। त्यसैको परिणामस्वरूप अधिकारीले औपचारिक रूपमा गगन थापा नेतृत्वको समर्थनमा धारणा सार्वजनिक गरेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।