प्रतिनिधिसभा उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने
310 पटक पढिएको
काठमाडौँ, ९ माघ । प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले आज दिउँसो १ः०० बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । आयोगका अनुसार उम्मेदवारी फिर्ता प्रक्रिया सम्पन्न भएपछि आजै दिउँसो १ः०० देखि ३ः०० बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
यसैगरी, आज अपराह्न ४ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ । निर्वाचन चिह्न प्रदान भएसँगै निर्वाचन प्रचार–प्रसार औपचारिक रूपमा तीव्र हुने अपेक्षा गरिएको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कार्यतालिकाअनुसार माघ ७ गते उम्मेदवारविरुद्ध दाबी–विरोधमा उजुरी दिने अवधि तोकिएको थियो । सो दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म उजुरी दर्ता गरिएको थियो । त्यसपछि सोही दिन दिउँसो ३ः०० बजेदेखि बिहीबार बेलुका ५ः०० बजेसम्म मनोनयनपत्र तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्दै उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो ।
निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८६ उम्मेदवारी दर्ता भएका छन् । माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता प्रक्रिया सम्पन्न भएको हो । कुल उम्मेदवारमध्ये तीन हजार ८९ जना पुरुष, तीन सय ९६ जना महिला तथा अन्य एक जना रहेका छन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते देशभर एकैपटक हुँदैछ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था रहेको छ ।






