आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
317 पटक पढिएको
काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ। शान्ति र विकासका लागि शिक्षाको भूमिकालाई उजागर गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१८ मा जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसका रूपमा घोषणा गरेपछि हरेक वर्ष यस दिन शिक्षा दिवस मनाउने गरिन्छ।
नेपालमा भने हरेक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइन्छ। यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा ‘शिक्षाको सह–सिर्जनामा युवा शक्ति’ रहेको छ।
उक्त नाराले परिवर्तनका सक्रिय एजेन्टका रूपमा युवाको भूमिकालाई स्वीकार गर्दै भविष्यका लागि तयार, समावेशी तथा गुणस्तरीय शिक्षा प्रणालीको डिजाइन, कार्यान्वयन र शासन प्रक्रियामा युवालाई प्रमुख साझेदारका रूपमा अघि बढाउने कुरामा जोड दिएको छ।
युनेस्कोका अनुसार हाल विश्वभर करिब २५ करोड बालबालिका तथा युवाहरू विद्यालय बाहिर छन् भने ७६ करोड ३० लाख वयस्कहरू निरक्षर रहेका छन्। यी तथ्याङ्कले अझै पनि ठूलो सङ्ख्यामा मानिसहरू शिक्षाको मौलिक अधिकारबाट वञ्चित रहेको अवस्था देखाउँछ।







