बैरेनी अस्पतालको कम्पाउण्ड निर्माणमा अवरोध, स्थानीयले दिए न्यायिक समितिमा निवेदन

727 पटक पढिएको

१२ माघ २०८२, सोमबार ०७:५६ सम्पादक: धादिङ न्यूज

धादिङ । गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बैरेनी बजारमा निर्माण सम्पन्न भएको बैरेनी अस्पतालको नयाँ भवन वरिपरि कम्पाउण्ड वाल निर्माण गर्न खोज्दा केही व्यक्तिहरूले अवरोध गरेपछि स्थानीयवासीले त्यसको विरोधमा गाउँपालिकाको न्यायिक समितिमा निवेदन दर्ता गराएका छन्।

अस्पताल जस्तो संवेदनशील स्वास्थ्य संस्थाको सुरक्षाका लागि अत्यावश्यक कम्पाउण्ड वाल निर्माणमा अवरोध हुनु गलत भएको उल्लेख गर्दै स्थानीयले संयुक्त निवेदनमार्फत अवरोध गर्ने पक्षमाथि कानुनी कारबाही गरी विकास निर्माणको काम तत्काल अघि बढाउन माग गरेका छन्।

निवेदनमा निर्माण सम्पन्न भइसकेको अस्पताल भवनलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न कम्पाउण्ड वाल अनिवार्य रहेको उल्लेख गरिएको छ। तर केही व्यक्तिको अवरोधका कारण निर्माण कार्य बीचमै रोकिँदा सार्वजनिक लगानी जोखिममा परेको र जनस्वास्थ्य सेवा प्रभावित हुने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ।

स्थानीयको अवरोध पछि कम्पाउण्ड वाल निर्माण अलपत्र भएको छ ।  निर्माण कार्य सुरु अचानक रोकिँदा संरचना अस्तव्यस्त बनेको छ।
स्थानीयका अनुसार, अवरोधका कारण कामदार हट्न बाध्य भएका छन् भने निर्माण सामग्री लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको छ।

 पाँच वर्ष बितिसक्दा पनि सञ्चालनमा आएन अस्पताल

बैरेनी अस्पतालको शिलान्यास २०७७ साल मंसिर १५ गते गरिएको हो। १८ करोड ८७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित पूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधरले गल्छी गाउँपालिकाको बैरेनीमा १० श्ययाको अस्पतालको   शिलान्यास गरेका थिए।
संघीय सरकारको पहल तथा गाउँपालिकाको समेत लागतमा निर्माण गरिएको यो अस्पतालको भवन निर्माण सम्पन्न भइसकेपनि नयाँ भवनबाट सेवा सञ्चालन हुन सकेको छैन।

गाउँमै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि स्थानीयले गाउँमै गुणस्तरीय उपचार सेवा पाउने अपेक्षा गरेका थिए। अस्पताल सञ्चालनमा आउन त परै जावोस, अस्पतालको कम्पाउण्ड वाल निर्माणमा समेत अवरोध भएपछि स्थानीय आक्रोशित हुन पुगेका छन् । आधारभूत संरचना निर्माणमै अवरोध हुँदा अस्पताल सञ्चालनमा ढिलाइ भइरहेको र आम नागरिक निराश बन्न पुगेका छन्।

स्थानीयवासीले अब न्यायिक समितिले छिटो निर्णय गरी अवरोध हटाउँदै कम्पाउण्ड वाल निर्माण अघि बढाउन र अस्पताल सेवा सञ्चालनको वातावरण बनाउनुपर्ने माग गरेका छन्।

भिडियोमा देखिएको अवस्था

कम्पाउण्ड वाल निर्माणस्थलको भिडियोमा खन्ने काम गरिएको खाल्डो, अलपत्र अवस्थामा छाडिएका निर्माण सामग्री तथा काम रोकिएपछि सुनसान बनेको स्थल देखिन्छ। निर्माण कार्य सुरु भइसके पनि अचानक रोकिँदा संरचना अस्तव्यस्त बनेको भिडियोमा स्पष्ट देख्न सकिन्छ।
स्थानीयका अनुसार, अवरोधका कारण कामदार हट्न बाध्य भएका छन् भने निर्माण सामग्री  प्रयोगविहीन अवस्थामा रहेको छ।

गल्छी गाउँपालिकाले अस्पताल सञ्चालनको तयारीस्वरूप डा. मधुकर दाहाललाई बैरेनी अस्पतालको प्रमुखको रूपमा नियुक्त गरेको छ। डा. दाहालले अस्पताल सञ्चालनका लागि पूर्वाधार व्यवस्थापन, आवश्यक उपचार संरचना निर्माण, सेवा प्रवाहको तयारी र व्यवस्थापन सुधारतर्फ सक्रिय रूपमा काम गरिरहेका थिए।

तर अस्पतालको भवनलाई कम्पाउण्ड गर्ने क्रममा आएको अवरोधका कारण सुरक्षा र सेवा सञ्चालनमा गम्भीर समस्या देखिएपछि डा. दाहाल समेत निराश बनेका छन्। उनका अनुसार, कम्पाउण्ड वाल नहुँदा अस्पताल सञ्चालन जोखिमपूर्ण हुने र जनशक्ति तथा उपकरण व्यवस्थापनमा कठिनाइ हुने अवस्था छ।