प्रतिनिधि सभा निर्वाचनः आचारसंहिता कार्यान्वयनका लागि धादिङमा अनुगमन अधिकृत तोकियो

389 पटक पढिएको

१३ माघ २०८२, मंगलवार ०८:०७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न धादिङसहित देशभरका ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।

चुनावी गतिविधि, निर्वाचन खर्च तथा आचारसंहिताको पालना समग्र रूपमा निगरानी गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिता अनुगमनको जिम्मेवारी प्रदान गरिएको छ। सोहीअनुसार धादिङ जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी महोन न्यौपानेलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो।

धादिङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माका अनुसार अनुगमन अधिकृतले जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत नियमित रूपमा निर्वाचन आयोगमा प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ। चुनावी अभियानका क्रममा कुनै पनि उम्मेदवार वा पक्षबाट आचारसंहिता विपरीत कार्य भएको सूचना वा उजुरी प्राप्त भएमा तत्काल त्यसको अनुगमन गरी जिल्लाबाटै निर्णय गर्न सकिने विषयहरू तुरुन्त टुंग्याइने र जिल्लाबाट निर्णय गर्न नसकिने विषयहरू आयोगमा पठाइने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

आचारसंहिता उल्लंघन भएको आशंकामा सम्बन्धित व्यक्ति वा पक्षसँग स्पष्टीकरण सोध्ने अधिकारसमेत अनुगमन अधिकृतलाई प्रदान गरिएको आयोगले जनाएको छ। आयोगबाट मात्रै सबै गतिविधिको निगरानी सम्भव नहुने भएकाले कानुनी प्रावधानअनुसार जिल्लास्तरमै अधिकृत तोकेर जिम्मेवारी दिइएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताउनुभयो।

यसैगरी, जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई निर्वाचनसम्बन्धी आर्थिक गतिविधिको निगरानी गर्ने जिम्मेवारी तोकिएको छ। आयोगका अनुसार निर्वाचन खर्चको विवरण पेस गरिएको वा नगरेको, लेखा राखिएको वा नराखिएको अवस्था, सम्पत्ति विवरण बुझाइएको वा नबुझाइएको तथा निर्वाचन कार्यालयमा घोषणापत्र बुझाइएको वा नबुझाइएको विषयमा समेत निगरानी गरिनेछ।

यसअघि प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित आचारसंहिता उल्लंघनका उजुरी आएपछि आयोगले केन्द्रबाटै स्पष्टीकरण सोध्ने अभ्यास गर्दै आएको थियो। नयाँ व्यवस्थाअनुसार भने जिल्लास्तरमै प्रारम्भिक अनुगमन र निर्णय प्रक्रिया अघि बढाइने आयोगको भनाइ छ।

यसैबीच, धादिङ जिल्लामा निर्वाचनसँग सम्बन्धित कुनै पनि विषयमा तत्काल सूचना तथा जानकारी लिन सहज बनाउन निर्वाचन क्षेत्र नम्बर १ मा पूर्णप्रसाद दुलाल र निर्वाचन क्षेत्र नम्बर २ मा राजेन्द्र लुईटेललाई सूचना अधिकारीको रूपमा तोकिएको छ। उहाँहरू दुवै जना सहायक निर्वाचन अधिकृत हुनुहुन्छ।