दशौँ धादिङ महोत्सव आजदेखि सुरु हुंदै

324 पटक पढिएको

१५ माघ २०८२, बिहीबार ०७:४६ सम्पादक: धादिङ न्यूज

धादिङबेसी, माघ १५-जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासलाई टेवा पुर्‍याउने उद्देश्यका साथ आजदेखि धादिङबेसीको खुल्ला मञ्चमा ‘दशौँ धादिङ महोत्सव-२०८२’  सुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षकत्वमा सञ्चालित यस महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुहुने कार्यक्रम रहेको छ ।

उद्घाटन समारोह हुनुपूर्व धादिङबेसी बजारमा विभिन्न जातजाति, भाषाभाषी र संघ-संस्थाको सहभागितामा मौलिक झाँकी र र्‍याली प्रदर्शन गरिने भएको छ । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार: कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ सुरु भएको यो महोत्सव आगामी माघ २५ गतेसम्म चल्नेछ।

महोत्सवमा कुल १६० वटा स्टलहरू राखिएका छन्, जसमा १०० वटा व्यावसायिक, २० वटा घरेलु तथा साना उद्योग र ४० वटा कृषि तथा अन्य स्थानीय उत्पादनका स्टलहरू रहेका छन्। यस वर्षको महोत्सवमा धादिङको ऐतिहासिक एवं धार्मिक स्थल भैरवी मन्दिरको प्रचार-प्रसार र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ।

आयोजकले महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने र ३ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा राखेको छ। स्थानीय किसानले उत्पादन गरेका कृषि सामग्रीको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, बाल उद्यान र रमाइलो मेला महोत्सवका मुख्य आकर्षणका रूपमा रहेका छन्। यसले जिल्लामा उत्पादित वस्तुको बजारीकरण र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।