निजी क्षेत्र सक्षम भए मात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ अध्यक्ष चन्द्र ढकाल

290 पटक पढिएको

१५ माघ २०८२, बिहीबार १८:४७ सम्पादक: धादिङ न्यूज

धादिङबेसी, १५ माघ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ बिहीबारदेखि धादिङबेसीको खुल्ला मञ्चमा दशौं धादिङ महोत्सवसुरु भएको छ । आगामी २५ माघसम्म सञ्चालन हुने यस महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहका बिच बिहीवार उद्घाटन गर्नुभयो।
महोत्सवको औपचारिक सुरुवात हुनुअघि सदरमुकाम धादिङबेसी बजारमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी र ¥याली प्रदर्शन गरिएको थियो। तामाङ, नेवार, चेपाङ, गुरुङ, कुमाल, बारम र क्षेत्री महिला समूहहरूले आ–आफ्नो जातीय पहिचान झल्किने भेषभूषामा नाचगान सहित बजार परिक्रमा गरेका थिए । घोडचढी नाच,चुड्का भजन र पञ्चेबाजाको धुनले बजार गुञ्जायमान बनेको थियो भने स्थानीय विभिन्न सांस्कृतिक झाँकीहरूले धादिङको विविधतापूर्ण सामाजिक एकताको तस्बिर प्रस्तुत गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताउनुभयो। उहाँले निजी क्षेत्र संकटमा पर्दा राज्यलाई समेत ठुलो आर्थिक नोक्सानी हुने भएकाले सरकारले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने नीति लिनुपर्नेमा जोड दिनुभयो। आर्थिक मन्दी र समस्याका कारण निजी क्षेत्रले ठुलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र केवल नाफाका लागि मात्र नभई देशको कर प्रणाली, रोजगारी सृजना र आर्थिक गतिविधि चलायमान बनाउन अग्रणी रहेको स्पष्ट पार्नुभयो। सोही अवसरमा उहाँले वर्षौंदेखि चर्चामा रहेको धादिङ र गोरखा जिल्लाको सिमानामा निर्माण हुन लागेको बूढीगण्डकी जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउन सरकारसँग आग्रह समेत गर्नुभयो।

महोत्सवको अवसर पारेर धादिङ उद्योग वाणिज्य संघले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि दबाब दिन हस्ताक्षर अभियान समेत सुरु गरेको छ, जसमा प्रमुख अतिथि ढकालले हस्ताक्षर गरी ऐक्यबद्धता जनाउनुभयो। कार्यक्रमका सभापति एवं धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले महोत्सवले जिल्लाको कृषिजन्य उत्पादन, घरेलु तथा औद्योगिक वस्तुको प्रदर्शन र सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। विशेष अतिथि एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले यस्ता मेला महोत्सवले स्थानीय उद्यमीहरूलाई प्रोत्साहन गर्ने र आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा र्पुयाउने बताउनुभयो।

जिल्लामा आयोजना हुने यस्ता महोत्सवहरूको औचित्य केवल मनोरञ्जनमा मात्र सीमित नभई यसले समग्र जिल्लाको आर्थिक र सामाजिक विकासमा दूरगामी प्रभाव पार्ने वक्ताहरुले वताएका थिए । महोत्सवले गाउँगाउँमा रहेका साना तथा घरेलु उद्यमीहरूलाई आफ्नो उत्पादन प्रदर्शन र बजारीकरण गर्ने एउटा साझा मञ्च प्रदान गरेको छ। यसले उत्पादक र उपभोक्ता बिचको सिधा सम्पर्क स्थापित गराई स्थानीय वस्तुको उपभोग गर्ने बानीको विकास गर्नुका साथै, विभिन्न जातजातिका झाँकी र सांस्कृतिक प्रस्तुतिले लोपोन्मुख परम्पराहरूको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको धादिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले बताउनु भयो ।
विशेष गरी सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सवमा हुने आर्थिक कारोबारले स्थानीय होटल, यातायात र साना व्यवसायीहरूलाई प्रत्यक्ष लाभ पुग्ने आयोजकहरुको दावी छ । महोत्सवमा कृषि प्रदर्शनी, औद्योगिक उत्पादनका स्टलहरू र दैनिक रूपमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरू मुख्य आकर्षणका रूपमा रहेका छन् । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरूको आतिथ्य रहेको थियो।
महोत्सवको अवसर पारेर धादिङको सुनौलावजारमा रहेको भैरवी मन्दिरको प्रचार प्रसार र गर्दै आन्तरिक पर्यटन गर्न सहयोग पु¥याउने आयोजकको भनाई छ ।
महोत्सवमा व्यापारिक तथा व्यावसायिक ११० र प्रदर्शनीका ४८ गरी जम्मा १५८ वटा स्टलहरू रहेका छन्। स्थानीय परिकार तथा सांस्कृतिक खानाको प्रदर्शनीले धादिङको मौलिक स्वादलाई आगन्तुकमाझ पस्कने बताइएको । बालबालिकाका लागि रमाइलो मेला तथा बाल उद्यानको व्यवस्था समेत गरिएको छ भने राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूबाट दैनिक रूपमा सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ।