धादिङका चार पत्रकार पुरस्कृत 'राजेन्द्र प्रताप शाह स्मृति पुरस्कार' केशव अधिकारीलाई

336 पटक पढिएको

१८ माघ २०८२, आईतवार १९:०५ सम्पादक: धादिङ न्यूज

धादिङ- नेपाल पत्रकार महासंघ धादिङ शाखाले चार जना पत्रकारलाई  पुरस्कारसहित सम्मान गरेको छ। माघ १८ गते धादिङबेसीस्थित महासंघको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच यस वर्षको ‘राजेन्द्र प्रताप शाह स्मृति पत्रकारिता पुरस्कार’ धादिङ न्यूजका संस्थापक एवं विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय केशव अधिकारीलाई प्रदान गरिएको छ।

नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सचिव स्व. राजेन्द्र प्रताप शाहको स्मृतिमा ज्वालामुखी गाउँपालिकाको सहयोगमा स्थापना गरिएको यस पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ। वि.सं. २०१८ साल बैशाख २९ गते साविक मैदी गाविस (हाल ज्वालामुखी-३) मा जन्मिनुभएका शाहको २०७८ चैत्र ३ गते निधन भएको थियो। उहाँको सामाजिक र पत्रकारिता क्षेत्रको योगदानलाई चिरस्थायी बनाउन र जिल्लामा मर्यादित पत्रकारितालाई प्रोत्साहन गर्ने लक्ष्यका साथ यो पुरस्कार स्थापना गरिएको हो।

 धादिङको पत्रकारितालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएका शाहले २०३८ देखि २०४१ को अवधिमा काठमाडौँमा रहेर जन्मभूमि र योजना साप्ताहिकमा काम गर्नुभएको थियो भने प्रजातन्त्र स्थापनापश्चात् घटना र विचार साप्ताहिकमा सम्पादक मण्डलको सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो। २०५४/५५ सालमा रेडियो नेपालबाट ‘गाउँघर’ नामक समाचारमूलक कार्यक्रम उत्पादन तथा प्रशारणमा समेत संलग्न शाह जिल्ला फर्किएपछि हिमालय टाइम्स, स्पेसटाईम, गोरखापत्र र कान्तिपुर दैनिकको जिल्ला समाचारदाता, गणेश हिमाल साप्ताहिकको कार्यकारी सम्पादक, र मङ्गलप्रभात किरण साप्ताहिकको प्रधान सम्पादक बन्नुभएको थियो। विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखन गर्दै आउनुभएका शाहको सामाजिक र पत्रकारिता क्षेत्रको योगदानलाई चिरस्थायी बनाउन र जिल्लामा मर्यादित पत्रकारितालाई प्रोत्साहन गर्ने लक्ष्यका साथ महासंघले यो पुरस्कार स्थापना गरेको हो।

त्यसैगरी महासंघले अन्य तीन विधामा पनि पत्रकारहरूलाई पुरस्कृत गरेको छ। सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार पत्रकार पोषनाथ अधिकारीलाई प्रदान गरियो। यो पुरस्कार नेपाल प्रेस युनियनको समन्वयमा नीलकण्ठ नगरपालिकाको सहयोगमा स्थापना गरिएको हो। यो पुरस्कार प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ धादिङका संस्थापक सभापति स्व. सीताराम प्रसाद वर्माको स्मृतिमा समर्पित छ। वि.सं. १९९९ मा जन्मिनुभएका वर्माले ४ पटकसम्म शाखाको नेतृत्व गर्नुभएको थियो भने उहाँको २०७७ कात्तिक २१ गते निधन भएको थियो। त्यस्तै तत्कालीन जिल्ला विकास समितिको सहयोगमा स्थापना गरिएको विकास पत्रकारिता पुरस्कार पत्रकार राजन अधिकारीलाई र वर्मा परिवारको सहयोगमा स्थापना गरिएको शालिकराम वर्मा स्मृति पत्रकारिता पुरस्कार पत्रकार रामबहादुर ठकुरी ‘आशिष’ लाई प्रदान गरिएको छ।

पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य र सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले पुरस्कृत पत्रकारहरूलाई दोसल्ला, सम्मान पत्र र नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो। सो अवसरमा प्रेस काउन्सिलका बोर्ड सदस्यहरू, पत्रकारहरू,जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।