धादिङ–२ मा चुनावी महासंग्राम: विरासत जोगाउने कि परिवर्तन रोज्ने ?

369 पटक पढिएको

२२ माघ २०८२, बिहीबार ०७:४४ सम्पादक: धादिङ न्यूज

धादिङ,२० माघ |आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै धादिङ क्षेत्र नं. २ मा राजनीतिक सरगर्मीले सीमा नाघेको छ। चिया पसलदेखि सार्वजनिक सवारीसम्म र चौतारीदेखि सदरमुकामका गल्लीहरूसम्म अहिले एउटै चर्चा छ- “यसपटक धादिङ–२ बाट कस्ले जित्ला ?”

उत्तरी क्षेत्रको रुबीभ्यालीदेखि खनियावास, गंगाजमुना, नेत्रावती डवजोङ, ज्वालामुखी, त्रिपुरासुन्दरी हुँदै नीलकण्ठ नगरपालिकासम्म फैलिएको यो क्षेत्र भौगोलिक र राजनीतिक दुवै हिसाबले विविधतापूर्ण छ। यसपटक यहाँ २४ जना उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा पाँच राजनीतिक शक्तिबीच हुने देखिएको छ।

मैदानका मुख्य सारथी र उनीहरूको प्रभाव

१. रमेश धमला (नेपाली कांग्रेस): नेपाली काँग्रेसका केन्द्रिय सदस्य पूर्व जिल्ला सभापति धमला कांग्रेसको सांगठनिक विरासत जोगाउने चुनौतीका साथ मैदानमा हुनुहुन्छ। कांग्रेसको बलियो पकड भएको यो क्षेत्रमा आफ्नो पकड कायमै राख्ने उहाँको दाउ छ।

धमला गगन थापा नेतृत्वको नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत हुन् । २०७४ सालमा यसै निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्यमा पराजित भएका धमलाले २०७९ मा प्रतिनिधि सभा सदस्यको दावी गरेकोमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेर पछि फिर्ता गरेका थिए ।

२. धनबहादुर घले (नेकपा एमाले): २०७० को संविधानसभा सदस्यको अनुभव बोकेका घले विकास र स्थिर सरकारको एजेन्डासहित चुनावी दौडमा हुनुहुन्छ। एमालेको ‘क्याडर बेस’ मत उहाँको मुख्य शक्ति हो।

३. रामबहादुर भण्डारी (नेपाली कम्युनिस्ट पार्टी – नेकपा): जनयुद्धका घाइते र दुई छोरा गुमाएका भण्डारीको उम्मेदवारीलाई धेरैले भावनात्मक रूपमा हेरेका छन्। ‘जीवित शहीद’ को पहिचान बनाएका भण्डारीले पुराना वामपन्थी र ‘त्यागी’ नेता रोज्ने मतदाताको मन जित्ने प्रयास गरिरहनुभएको छ।

पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएका भण्डारीलाई आफ्नै पूर्व सहकर्मीहरुले मत विगारी दिने डर छ । रास्वपाबाट उम्मेदवार बनेका वोधनारायण श्रेष्ठ माओवादी पार्टी भित्र राम्रो पकड भएका व्यक्ति हुन् । श्रेष्ठको सकृयताले भण्डारीलाई प्रत्यक्ष प्रभावित पार्ने देखिन्छ भने २०६४ सालका संविधान सभा सदस्य पूर्व माओवादी नेता विर वहादुर तामाङमा पनि यसै निर्वाचन क्षेत्रबाट जनादर्न शर्मा नेत्तृत्वको प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन् । तामाङले पाउने मत पनि पूर्व माओवादीहरुको भएकाले यता बाट पनि भण्डारीलाई चुनौती थपिएको छ । यसै गरी नेत्र बिक्रम चन्द नेत्तृत्वको नेकपा माओवादीले पनि यस क्षेत्रमा उम्मेदवारी दिएका कारण पूर्व माओवादीहरुको मत विभाजन हुने अबस्था वलियो बन्दा भण्डारीले पाउने मत घट्दै जाने डर बढेको छ ।

४. बोधनारायण श्रेष्ठ (रास्वपा): केन्द्रीय संगठन विभागको जिम्मेवारीमा रहेका श्रेष्ठ ‘परिवर्तन’ र ‘सुशासन’ को नारा लिएर युवा पुस्तामाझ लोकप्रिय बन्ने प्रयासमा हुनुहुन्छ। अघिल्लो निर्वाचनमा रास्वपाले देखाएको उपस्थितिलाई यसपटक नतिजामा बदल्ने उहाँको लक्ष्य छ।

५. शुरेश कुमार रिजाल (राप्रपा): परम्परागत र धार्मिक मतका साथै राष्ट्रवादी एजेन्डा बोकेर रिजाल चुनावी मैदानमा हुनुहुन्छ। अघिल्लो निर्वाचनको समानुपातिक मतले राप्रपा यस क्षेत्रमा निर्णायक शक्तिको रूपमा रहेको देखाउँछ।

विगतका निर्वाचन परिणामले धादिङ–२ मा सधैं कडा र रोचक प्रतिस्पर्धा हुने गरेको पुष्टि गर्छ:

विवरण २०७४ (आम निर्वाचन) २०७९ (आम निर्वाचन)
विजेता खेम लोहनी (एमाले) – ३६,२०० मत रामनाथ अधिकारी (कांग्रेस) – ३४,७३६ मत
निकटतम रामनाथ अधिकारी (कांग्रेस) – ३५,६०० मत खेम लोहनी (एमाले) – २४,१९० मत
मतान्तर मात्र ६०० मत १०,५४६ मत

समानुपातिक मत – २०७९

कुनै पनि दलको वास्तविक जनमत मापन गर्ने आधार समानुपातिक मतलाई मानिन्छ। २०७९ मा यस क्षेत्रमा दलहरूको अवस्था यस्तो थियो:

  • नेपाली कांग्रेस: २०,९५७ मत

  • नेकपा एमाले: १६,२७५ मत

  • नेकपा (माओवादी): ११,४९४ मत

  • राप्रपा: ७,६३० मत

  • रास्वपा: ५,६२८ मत

यसपटक थपिएका ३,८६८ नयाँ मतदाता र गठबन्धन बिनाको चुनावी प्रतिस्पर्धाले नतिजालाई अनपेक्षित बनाउन सक्छ। विशेषगरी:

  •  राप्रपाको भूमिका: यदि राप्रपाको मत  शुरेश रिजालले सुरक्षित राख्न सकेमा कांग्रेस र एमालेका उम्मेदवारलाई कठिन हुनेछ।

  • भौगोलिक चुनौती: उत्तरी भेगको विकटता र सदरमुकामको मिश्रित मतले जित-हारमा ठूलो भूमिका खेल्नेछ।

  • स्वतन्त्रको लहर: चुनावी मैदानमा रहेका अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूले काट्ने मतले पनि ठूला दलको गणितलाई तलमाथि पार्न सक्छ।

धादिङ–२ मा यसपटक पुराना दलहरू आफ्नो विरासत जोगाउन संघर्षरत छन् भने नयाँ शक्तिहरू विकल्पको रूपमा उदाउन चाहन्छन्। फागुन २१ को मतदानले मात्र यो क्षेत्रको आगामी भाग्य र भविष्यको फैसला गर्नेछ।