आचारसंहिता उल्लङ्घन गर्ने २४ उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

295 पटक पढिएको

२४ माघ २०८२, शनिबार ०६:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २४ माघ:निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले आफ्नो जवाफ बुझाएका छन्। आयोगले कुल ३४ राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा अझै १० जनाले जवाफ दिन बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटना न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीहरूमाथि आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रियालाई तीव्रता दिएको छ। यस कार्यका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति र सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रूपमा परिचालन गरिएका छन्।

जिल्लास्तरमा अनुगमनलाई थप सुदृढ बनाउन निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई विशेष जिम्मेवारी सुम्पिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीले आर्थिक बाहेकका अन्य विषयको अनुगमन गर्नेछन् भने आर्थिक विषयको अनुगमनका लागि प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकलाई अनुगमन अधिकृत तोकिएको छ।

छोटो अवधिमै देशभरका सरोकारवालालाई आचारसंहिताबारे सचेत गराउने र पालनाको प्रतिबद्धता लिने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ। साथै, जिल्लास्तरमा प्राप्त भएका उल्लङ्घनका उजुरीहरूमाथि तत्काल कारबाही अघि बढाइएको समेत आयोगले प्रष्ट पारेको छ।