निष्पक्ष निर्वाचन सुनिश्चित गर्न गृहमन्त्री अर्याल धादिङमा

291 पटक पढिएको

२४ माघ २०८२, शनिबार १८:५७ सम्पादक: धादिङ न्यूज

धादिङबेसी, २४ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल शनिबार धादिङ आउनुभएको छ। उच्चस्तरीय सरकारी तथा सुरक्षा टोलीसहित जिल्लामा पुग्नुभएका मन्त्री अर्यालले दुवै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत कार्यालयहरूको स्थलगत निरीक्षण गर्दै भयरहित मतदान वातावरण सुनिश्चित गरिने विश्वास व्यक्त गर्नुभयो।

नुवाकोटको निरीक्षणपछि धादिङ प्रवेश गर्नुभएका मन्त्री अर्यालले पहिलो चरणमा क्षेत्र नं. १ अन्तर्गत गल्छीको महेशदोभानस्थित निर्वाचन अधिकृत कार्यालयको अवलोकन गर्नुभयो। त्यहाँ मतपेटिका ढुवानी, भण्डारण र मतगणना केन्द्रको सुरक्षाबारे विस्तृत जानकारी लिनुका साथै आवश्यक सावधानी अपनाउन निर्देशन दिनुभयो।

त्यसपछि सदरमुकाम धादिङबेसीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित छलफलमा सुरक्षा निकायका प्रमुख, प्रशासनिक अधिकारी र निर्वाचनसम्बन्धी जिम्मेवार पदाधिकारीहरू सहभागी थिए। सो अवसरमा मन्त्री अर्यालले निर्वाचन अवधिभर शान्ति–सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिने स्पष्ट निर्देशन दिनुभयो। उहाँले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा निर्वाचन कार्यालयहरूको अवस्थाबारे समेत प्रत्यक्ष जानकारी लिनुभयो।

सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख दायित्व निर्धारित समयभित्र निर्वाचन सम्पन्न गराएर विधिको शासन सुदृढ गर्नु रहेको बताउनुभयो। उहाँका अनुसार सरकार कुनै दल वा पक्षप्रति झुकेको छैन र पूर्ण निष्पक्षताका साथ निर्वाचन गराउने प्रतिबद्धतामा दृढ छ।
“यसपटकको निर्वाचन विगतभन्दा अझ पारदर्शी र विश्वसनीय बनाइनेछ,” उहाँले भन्नुभयो, “निर्वाचन सम्पन्न भएपछि मात्र सरकारको काम पूरा भएको मानिनेछ।”

गृहमन्त्रीले निर्वाचन सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवालासँग निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो। मतदातालाई सुरक्षित वातावरणमा स्वतन्त्र रूपमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको बताउँदै उहाँले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभयो।

अनुगमन भ्रमणमा गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी थिए। जिल्लाको सुरक्षा अवस्थाबारे प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, प्रहरी उपरीक्षक सुमित खड्का लगायतले विस्तृत ब्रिफिङ दिएका थिए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार धादिङका १३ स्थानीय तहमा २ लाख ७५ हजार २ सय ८० मतदाता रहेका छन्। मतदाता लाई सुरक्षित रूपमा मतदान प्रक्रियामा सहभागी गराउन गृह मन्त्रालयले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ।