बागमतीमा चुनावी राप: विरासत जोगाउने र भत्काउने दाउमा दलहरु
319 पटक पढिएको
धादिङ । प्रतिनिधिसभा निर्वाचनको सरगर्मीले यतिबेला देश पूरै तातेको छ। संघीय राजधानी समेत रहेको बागमती प्रदेशको ३३ वटै निर्वाचन क्षेत्रमा दलहरुको सक्रियता बढ्दै गएको छ । दलहरूले यस प्रदेशलाई आफ्नो प्रतिष्ठाको मुख्य क्षेत्र बनाएर चुनावी प्रचारलाई तीव्र पारेका छन्।
दुईवटा निर्वाचन क्षेत्र रहेको धादिङमा यसपटकको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। यहाँका पुराना शक्तिहरू नेपाली कांग्रेस र नेकपा एमालेलाई नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिइरहेको छ। उम्मेदवारहरूले मतदाता रिझाउन घरदैलो अभियानलाई तीव्रता दिएका छन्। धादिङको नतिजाले प्रदेशको कुल सिट संख्यामा अर्थपूर्ण प्रभाव पार्नेछ।
धादिङसहित ३३ निर्वाचन क्षेत्र रहेको बागमती प्रदेशमा ५ सय दलीय र २ सय ३१ स्वतन्त्र गरी कुल ७ सय ३१ जना उम्मेदवार चुनावी मैदानमा छन्। सबैभन्दा धेरै उम्मेदवार राजधानी काठमाडौंमा ८२ स्वतन्त्रसहित २५० जना छन् भने रसुवामा सबैभन्दा कम ९ जना मात्र प्रतिस्पर्धामा छन्। देशभरकै धेरै ३६ लाख ८२ हजार ३ सय १० मतदाता रहेको यो प्रदेशमा दलहरू आफ्नो सांगठनिक उपस्थिति प्रमाणित गर्ने दबाबमा छन्।
२०७९ को निर्वाचनमा १३ सिट जितेर पहिलो दल बनेको नेपाली कांग्रेस यसपटक पनि बहुमत सिटसहित आफ्नो स्थान सुरक्षित राख्ने दाउमा छ । कांग्रेस नेताहरु भन्छन्, ” आम मतदाता कांग्रेसप्रति सकारात्मक रहेकाले हामी नै पहिलो दल बन्ने निश्चित छ।”
यता, अघिल्लो निर्वाचनमा ४ सिटमा खुम्चिएको नेकपा एमाले यो पटक पुरानो विरासत फर्काउने दाउमा छ। एमालेले उपत्यका बाहिरका जिल्लाहरूमा मात्रै ११-१२ सिट कटाउने दाबी गर्दै प्रदेशभर बहुमत ल्याउने दावी गरिरहेको छ । एमालेले आफ्नो संगठित सदस्यको मतलाई मुख्य आधार मानेको छ।
नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने काठमाडौंका १५ र चितवनका ३ सिटमा ‘क्लिन स्वीप’ गर्ने दाबी गरेको छ। रास्वपाले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बागमती प्रदेशबाट मात्रै ७ सीट जितेको थियो । यसपटक बागमतीमा पहिलो दल बन्ने चुनावी रणनीतिमा रास्वपा रहेको देखिन्छ । बागमतीका उपत्यका बाहेकको बाँकी १५ वटा निर्वाचन क्षेत्रमा भने प्रारम्भिक मत सर्वेक्षण गर्न बाँकी रहेको रास्वपाको दाबी छ ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र र एकीकृत समाजवादीको गठजोड) ले पनि २०७९ को तुलनामा सिट संख्या बढाउने लक्ष्य राखेको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससहितको दलसँग मिलेर चुनावमा जाँदा ५ सीट जितेको थियो ।
राप्रपाले पनि चितवन र मकवानपुरका आफ्ना पकड क्षेत्र जोगाउँदै थप सिटमा प्रतिस्पर्धा गर्ने रणनीति लिएको छ।राप्रपाले ७९ मा चितवन ३ र मकवानपुर १ गरी २ ठाउँ जितेको थियो ।
धादिङदेखि दोलखासम्म र चितवनदेखि सिन्धुपाल्चोकसम्मको यो चुनावी दौडमा दलहरूले विकास, समृद्धि र राजनीतिक स्थिरतालाई मुख्य एजेन्डा बनाएका छन्। बागमतीका ७ सय ३१ उम्मेदवार र ३६ लाख ८२ हजार मतदाताको यो महासंग्राममा कुन दलले बाजी मार्छ, त्यो भने निर्वाचनको परिणामले टुङ्गो लगाउनेछ।








Join our affiliate program and start earning commissions today—sign up now!