आराध्यदेव भगवान् शिवको महिमा: देशभर हर्षोल्लासका साथ महाशिवरात्री मनाइँदै
432 पटक पढिएको
काठमाडौँ, ३ फागुन – प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको मध्यरातमा मनाइने पवित्र पर्व महाशिवरात्री आज देशभरका शिवालयहरूमा विधिपूर्वक पूजा-आराधना गरी मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्वपूर्ण मानिने यस दिन भक्तजनहरूले बिहानैदेखि पवित्र नदी, कुण्ड र तलाउमा स्नान गरी भगवान् शिवको दर्शन गर्ने गर्दछन्। शास्त्रीय मान्यता अनुसार फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा परब्रह्मले शिवको रूप धारण गर्नुभएको विश्वास गरिन्छ, जसका कारण यस दिन गरिने पूजा, आराधना र दर्शनले मानव जीवनमा सुख, शान्ति र मृत्युपश्चात् सद्गति प्राप्त हुने धार्मिक विश्वास रही आएको छ।
शिव पुराण लगायतका धार्मिक ग्रन्थहरूमा कालरात्रि, मोहरात्रि र सुखरात्रिसँगै शिवरात्रिलाई चार प्रमुख पवित्र रात्रिहरूमध्ये एकको रूपमा व्याख्या गरिएको छ। यस पर्वलाई विशेषगरी दीनदुःखी र कष्टमा परेका प्राणीहरूको उद्धार गर्ने आशुतोष भगवान् शिवको अति प्रिय दिन मानिन्छ। प्रकृतिमा आउने परिवर्तनसँग पनि यस पर्वको सम्बन्ध जोडिएको छ; माघको चिसोले जीर्ण बनेका वनस्पतिहरू फागुनदेखि महादेवको ‘शिवत्व’ अर्थात् कल्याणकारी तत्वका कारण पुनः पलाउन थाल्ने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ।
सबै व्रतहरूमध्ये सर्वोत्तम मानिने महाशिवरात्रीका दिन श्रद्धालुहरूले दिनभर उपवास बसी रातभर जाग्राम बस्ने गर्दछन्। भगवान् शिवलाई मनपर्ने दूध, धतुरो र बेलपत्र चढाएर पूजा अर्चना गर्नाले सर्वसिद्धि लाभ हुने र यमलोक जानु नपर्ने जनविश्वास छ। जाडो महिनाको अन्त्यतिर पर्ने भएकाले महादेवलाई जाडो हुने जनश्रुति अनुसार आजको दिन घर-घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाउने र भजनकीर्तन गर्ने परम्परा छ। राष्ट्रिय सांस्कृतिक पर्वको रूपमा रहेको यस अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष रौनक देखिएको छ। पशुपतिमा आज रातको चारै प्रहरमा छुट्टाछुट्टै पूजा गरिनुका साथै महादीप, अखण्डदीप र लाखौँ बेलपत्र अर्पण गर्ने गरिन्छ। यस पावन अवसरमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत हजारौँको संख्यामा तीर्थयात्रीहरू पशुपतिनाथको दर्शनका लागि काठमाडौँ आइपुगेका छन्।








Tap into unlimited earnings—sign up for our affiliate program!
Apply now and unlock exclusive affiliate rewards!