प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च, प्रतिमतदाता लागत २८४ रुपैयाँ

234 पटक पढिएको

६ चैत्र २०८२, शुक्रबार ०७:०७ सम्पादक: धादिङ न्यूज

काठमाडौं, ५ चैत २०८२-  निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चको प्रारम्भिक विवरणबारे जानकारी दिनुभएको हो।

आयोगका अनुसार हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ भुक्तानी भइसकेको छ भने बाँकी दायित्व समेत जोड्दा कुल खर्च ५ अर्ब ३७ करोड पुग्ने देखिएको छ। यस पटकको निर्वाचनमा औसत प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ। सरकारले निर्वाचन प्रयोजनका लागि ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सुनिश्चितता दिएकोमा आयोगले निर्धारित बजेटभन्दा कम खर्चमा निर्वाचन सम्पन्न गरेको प्रवक्ता भट्टराईले दाबी गर्नुभयो। “हामीले तुलनात्मक रूपमा मितव्ययी ढंगले निर्वाचन सम्पन्न गर्न सफल भएका छौँ,” उहाँले भन्नुभयो।

यसैबीच, निर्वाचनका क्रममा धादिङमा एउटा रोचक र व्यङ्ग्यात्मक घटना समेत देखिएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५ का एक मतदाताले राजनीतिक अस्थिरता र समयअगावै भएको मध्यावधि निर्वाचनप्रति असन्तुष्टि जनाउँदै मतपेटिकामा नगदसहितको पत्र खसालेका छन्। उनले मतपत्रसँगै ५०० रुपैयाँ राखेर ‘राज्यकोषमा जम्मा गरिदिनु’ भन्दै देशको विद्यमान राजनीतिक अवस्था र निर्वाचन खर्चप्रति व्यङ्ग्य गरेका थिए। निर्वाचन आयोगले खर्चको हिसाब सार्वजनिक गरिरहँदा नागरिक स्तरबाट भएको यो सांकेतिक विरोधले राजनीतिक वृत्तमा चर्चा पाएको छ।