मौसम अपडेट: देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

308 पटक पढिएको

७ चैत्र २०८२, शनिबार ०६:५१ सम्पादक: धादिङ न्यूज

धादिङ, ८ चैत । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको दोहोरो प्रभावका कारण देशभरिको मौसममा उल्लेख्य बदलाव आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभरि नै बादल लाग्नुका साथै विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ।

 अहिले मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश पहाडी र हिमाली भू-भागमा पूर्ण बदली रहेको छ। प्राप्त स्याटेलाइट तस्बिरमा देखिए अनुसार नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको यो मौसमी प्रणाली अहिले देशभरि नै विस्तार हुने क्रममा छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा अहिले मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। विशेषगरी पहाडी र हिमाली क्षेत्रमा हिमपातको प्रभाव बढी देखिन सक्ने पूर्वानुमान गरिएको छ।

 आज राती पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत अन्य प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

 मौसममा आएको यो परिवर्तन, अचानक हुन सक्ने हावाहुरी र चट्याङ्गका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभागले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। यात्रा गर्दा वा बाह्य काममा निस्कँदा मौसमको अवस्था बुझेर मात्र निस्कन सुझाव दिइएको छ।