सिद्धलेकको सुविटारका कृषकलाई बोयर जातका बाख्रा वितरण: पशुपालनलाई व्यावसायिक बनाउने लक्ष्य
311 पटक पढिएको
धादिङ, ११ चैत । धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ४, सुविटारमा व्यावसायिक पशुपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उन्नत जातका बोयर बाख्रा वितरण गरिएको छ। सुविटार कृषक समूहका सदस्यहरूलाई लक्षित गरी आयोजना गरिएको एक कार्यक्रमका बीच खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई गोरखाको सहयोगमा ती बाख्राहरू वितरण गरिएको हो।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार ८५ प्रतिशत पूरक अनुदानमा ७५ प्रतिशत बोयर जातका २५ वटा पाठी र २ वटा ब्याड बोका कृषकहरूलाई हस्तान्तरण गरिएको छ। स्थानीय स्तरमा परम्परागत रूपमा गरिँदै आएको पशुपालनलाई आधुनिक, उत्पादनशील र आम्दानीमुखी बनाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
सिद्धलेक गाउँपालिका वडा नं. ४ का वडा सदस्य लिलानाथ थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वितरण कार्यक्रममा स्थानीय कृषकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वडा सदस्य थपलियाले अनुदानमा प्राप्त भएका उन्नत जातका बाख्राहरूको उचित पालनपोषण गरी गाउँमै स्वरोजगारका अवसरहरू सिर्जना गर्न कृषकहरूलाई आग्रह गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका कृषकहरूको आर्थिक अवस्था सुधार गर्न र जीवनस्तर उकास्न ठूलो टेवा पुग्ने बताउनुभयो।
पशुपालन व्यवसायमा संलग्न कृषकहरूले उन्नत जातका पाठी र बोका पाएपछि खुसी व्यक्त गरेका छन्। सुविटार कृषक समूहका सदस्यहरूका अनुसार, स्थानीय जातका बाख्राको तुलनामा बोयर जातका बाख्राको शारीरिक वृद्धि छिटो हुने र मासु उत्पादन बढी हुने भएकाले यसबाट सोचे जस्तो आम्दानी लिन सकिने अपेक्षा गरिएको छ। क्लष्टर इकाई गोरखाले कृषकहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै दिगो कृषि प्रणालीको विकासका लागि क्लष्टर स्तरमा यस्ता अनुदानमुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।







