पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिँदै
181 पटक पढिएको
धादिङ न्यूज समाचारदाता
काठमाडौँ, १५ चैत। शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइँदै छ। गत भदौमा भएको ‘जेनजी’ आन्दोलन हिंसात्मक बनेपछि भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर्याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै उनीहरूमाथि कानुनी कारबाही अघि बढाइएको हो।
शनिबार बिहान प्रहरीले जरुरी पक्राउ पुर्जी देखाएपछि अध्यक्ष ओली आफ्नै निजी गाडीमा जिल्ला प्रहरी परिसर आइपुगेका थिए। सो क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई पक्राउ गर्नु राज्यको प्रतिशोध भएको टिप्पणी गरेका छन्।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार ओलीलाई चिकित्सकको सल्लाह बमोजिम त्रिवि शिक्षण अस्पताल (टिचिङ) र लेखकलाई महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ। उनीहरूमाथि मुलुकी अपराध संहिताको ज्यानसम्बन्धी कसुर अन्तर्गत लापरवाही र हेलचेक्य्राइँ गरी ज्यान मारेको अभियोगमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच, नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत यो पक्राउ कुनै प्रतिशोध नभई न्यायको सुरुवात भएको दाबी गरेका छन्। उनले कानुनभन्दा माथि कोही पनि नरहेको स्पष्ट पार्दै ‘जेनजी’ आन्दोलनका सहिदहरूप्रति न्याय सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यता नेकपा (एमाले) ले भने आफ्ना अध्यक्षको पक्राउलाई वर्तमान सरकारको ‘नियोजित र निर्देशित’ कदमको संज्ञा दिँदै तत्काल रिहाइको माग गरेको छ। एमालेले यस घटनालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भन्दै विरोध जनाएको छ।







