देशभरका प्रहरी ‘स्ट्याण्डबाई’, काठमाडौँका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा
201 पटक पढिएको
काठमाडौँ । नेकपा एमालेको सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभरका इकाइहरूलाई आज बिहान ८ बजेदेखि ‘स्ट्याण्डबाई’ ड्युटीमा रहन निर्देशन दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउ पछि उत्पन्न परिस्थितिलाई हेर्दै सुरक्षा सतर्कता उच्च पारिएको हो।
सरकारले जेन्जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा शनिबार भक्तपुरबाट दुवै नेताहरूलाई नियन्त्रणमा लिएको थियो। यसैको विरोधमा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने र प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र, सरकारी भवन र विशिष्ट व्यक्तिहरूको सुरक्षालाई ध्यान दिँदै केन्द्रीय प्रहरीले गए राति नै सबै युनिटलाई सतर्क रहन आदेश दिएको थियो। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार सुरक्षा व्यवस्थापन नियमित प्रक्रिया भए पनि परिस्थितिको गाम्भीर्यलाई हेरेर कमाण्डरको निर्देशन बमोजिम अतिरिक्त जनशक्ति परिचालन गरिएको छ।
अत्यावश्यक अवस्थाबाहेक प्रहरी कर्मचारीलाई बिदा नछोड्न र सबै गण, गुल्म तथा तालिम केन्द्रमा रहेका जनशक्तिलाई समेत तयारी अवस्थामा राख्न भनिएको छ। काठमाडौँका मुख्य प्रदर्शनस्थल र संवेदनशील क्षेत्रहरूमा बिहानैदेखि थप मद्दत टोली खटाइएको छ भने सशस्त्र प्रहरीले पनि गस्ती सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार सम्भावित भिड नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षा बन्दोबस्ती मिलाइएको छ।







