गल्छीको केउरिनीटारमा नि:शुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्न
237 पटक पढिएको
धादिङ, २३ चैत २०८२ | धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ स्थित साना किसान भवन, केउरिनीटारमा आइतबार एक दिवसीय नि:शुल्क प्रजनन स्वास्थ्य रुग्णता जाँच तथा व्यवस्थापन शिविर सम्पन्न भएको छ। महिलाहरूको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै सञ्चालन गरिएको उक्त शिविरमा १३८ जना सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका छन्।
शिविरमा विशेष गरी पाठेघरको मुखको क्यान्सर पहिचान (भिआईए जाँच), आङ्ग खस्ने समस्या, अब्स्ट्रेटिक फिस्टुला र यौन रोगको उपचार तथा परामर्श प्रदान गरिएको थियो। प्राप्त तथ्याङ्क अनुसार १२० जना महिलाको भिआईए जाँच गरिएकोमा ६ जनामा ‘भिआईए पोजेटिभ’ अर्थात् क्यान्सरको प्रारम्भिक जोखिम देखिएको छ। त्यस्तै, १३८ जनाकै स्तन क्यान्सरको समेत जाँच गरिएको आयोजकले जनाएको छ।
शिविरमा ४५ जनाले यौन रोगको उपचार सेवा लिएका छन् भने आङ्ग खस्ने समस्या भएका ४ जना महिलाको रिङ पेसरी राखिएको छ। अन्य विभिन्न स्वास्थ्य समस्या भएका ६ जनालाई आवश्यक परामर्श र उपचार प्रदान गरिएको थियो। ग्रामीण भेगका महिलाहरूलाई आफ्नै घरआँगनमा विशेषज्ञ सेवा पुर्याउने उद्देश्यले आयोजित यस कार्यक्रमलाई स्थानीयले निकै प्रभावकारी मानेका छन्।
आयोजकले शिविर सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक र सहयोगी व्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन गरेको छ। यसैबीच, स्वास्थ्य अभियानलाई निरन्तरता दिँदै चैत २३ गते गल्छी गाउँपालिका वडा नम्बर ३ स्थित आमडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन हुने जानकारी दिइएको छ।







