अमेरिका र इरानबीच ४० दिनपछि युद्ध रोकियो: दुई साताका लागि युद्धविराम !
271 पटक पढिएको
काठमाडौँ, २५ चैत । विगत ४० दिनदेखि खाडी क्षेत्रमा जारी विनाशकारी युद्ध अन्ततः तत्कालका लागि मत्थर भएको छ। अमेरिका र इरानबीच दुई साताका लागि अस्थायी युद्धविराम गर्ने सहमति भएसँगै मध्यपूर्वमा केही राहतको सास फेरिएको छ। अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको निरन्तर दबाब र कूटनीतिक प्रयासपछि यो युद्धविराम सम्भव भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र त्यहाँका सेना प्रमुखको विशेष आग्रहपछि आफू युद्धविरामका लागि तयार भएको घोषणा गर्नुभएको छ। यद्यपि, युद्धविरामको घोषणा गर्नुअघि राष्ट्रपति ट्रम्पले इरानलाई कडा चेतावनी समेत दिनुभएको थियो। उहाँले विश्वको मुख्य तेल आपूर्ति मार्ग होर्मुज जलडमरूबाट जहाजहरूको सुरक्षित आवागमनमा कुनै अवरोध भएमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने शर्त राख्नुभएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो सहमति जुटाउन पाकिस्तानले मुख्य मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो भने अन्तिम समयमा चीनको कूटनीतिक पहलले ठोस नतिजा निकालेको हो। पाकिस्तानले अघि सारेको दुई साताको युद्धविराम प्रस्तावलाई इरानले स्वीकार गरेपछि दुवै पक्षबीच आक्रमण रोक्ने समझदारी बनेको हो। सम्झौताको मुख्य बुँदाअनुसार अमेरिका र उसका सहयोगी राष्ट्र विशेषगरी इजरायलले इरानमाथि गरिरहेको सैन्य आक्रमण तत्काल रोक्नेछन् भने इरानले पनि आफ्ना सबै सैन्य गतिविधि र प्रत्याक्रमण स्थगित गर्नेछ।
युद्धविरामको मुख्य केन्द्रविन्दु होर्मुज जलडमरूको सुरक्षा रहेको छ। सहमति अनुसार अबको दुई साता सो क्षेत्र हुँदै तेल, ग्यास तथा व्यापारिक जहाजहरूको आवागमन इरानी सेनाको सहयोगमा सुरक्षित रूपमा सुनिश्चित गरिनेछ। यो युद्धविरामको प्रभाव लेबनान लगायतका अन्य द्वन्द्वग्रस्त क्षेत्रमा पनि पर्ने बताइएको छ, जहाँ इरान समर्थित समूह र इजरायलबीच तनाव जारी थियो।
युद्धविराम घोषणा भएको करिब दुई घण्टापछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सबै सैन्य इकाइलाई तत्काल गोलाबारी र सैन्य परिचालन रोक्न कडा निर्देशन दिनुभएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार सबै सुरक्षा निकायलाई यो आदेश पालना गर्न भनिएको छ। यद्यपि, इरानले यसलाई युद्धको पूर्ण अन्त्य नभई केवल एउटा अस्थायी व्यवस्था मात्र भएको र आगामी परिस्थितिको आधारमा आफ्नो रणनीति तय गर्ने स्पष्ट पारेको छ।
उता, पेन्टागनले पनि इरानविरुद्धका सबै आक्रामक सैन्य कारबाहीहरू रोक्न निर्देशन जारी गरिसकेको छ। अमेरिकी रक्षा विभागका अनुसार आक्रामक कारबाही रोकिए पनि आफ्ना बेस र सहयोगीहरूको रक्षाका लागि सुरक्षासम्बन्धी गतिविधि भने यथावत रहनेछन्। इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि युद्धविरामको पुष्टि गर्दै पाकिस्तानको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ। उहाँले अमेरिकाले आक्रमण बन्द गरेमा इरानले पनि आफ्नो प्रतिरक्षात्मक कदम स्थगित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यस अस्थायी युद्धविरामलाई दीर्घकालीन शान्तिमा बदल्न आगामी अप्रिल १० तारिखमा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच उच्चस्तरीय औपचारिक वार्ता सुरु हुने तय भएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै पक्षलाई आमनेसामने वार्ताका लागि निमन्त्रणा दिँदै यो संवादको मुख्य उद्देश्य क्षेत्रीय शान्ति र स्थायित्वका लागि स्थायी समाधान खोज्नु रहेको बताउनुभएको छ। यो वार्तालाई विश्वभरका कूटनीतिज्ञहरूले निकै चासोका साथ हेरेका छन्।







