इन्धनको मूल्यमा उच्च वृद्धि: पेट्रोल अब २१९ र डिजेल २०७ रुपैयाँ, ग्यासको मूल्यले पनि नयाँ उचाइ लियो

326 पटक पढिएको

२७ चैत्र २०८२, शुक्रबार ०७:०३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको भन्दै नेपाल आयल निगमले घरेलु बजारमा इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ। निगम सञ्चालक समितिको पछिल्लो निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य वृद्धि गरिएको हो।

निगमका अनुसार सबैभन्दा धेरै डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरिएको छ। डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँ थपिएको छ भने पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ बढाइएको छ। योसँगै अब उपभोक्ताले काठमाडौँ उपत्यकामा एक लिटर पेट्रोलका लागि २१९ रुपैयाँ र डिजेल तथा मट्टितेलका लागि २०७ रुपैयाँ तिर्नुपर्नेछ।

इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि प्रतिसिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ। अब एक सिलिन्डर ग्यासको मूल्य २ हजार १० रुपैयाँ पुगेको छ। त्यस्तै, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ, जसको नयाँ मूल्य २५७ रुपैयाँ कायम भएको छ।

सरकारले उपभोक्तालाई राहत दिन भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने घोषणा गरे पनि निगमले आफ्नो घाटा कम नभएको दाबी गरेको छ। यो मूल्यवृद्धि पछि पनि निगमलाई हरेक १५ दिनमा (पाक्षिक) करिब ७ अर्ब ८१ करोड रुपैयाँ नोक्सान हुने अधिकारीहरूको भनाइ छ।

गएरातिदेखि नै लागू भएको यो नयाँ मूल्यसूचीले बजारमा खाद्यान्न र ढुवानीको लागत बढाउने निश्चित छ। इन्धनको मूल्यमा भएको यो उच्च वृद्धिले सर्वसाधारणको दैनिक खर्चमा ठूलो भार थप्ने देखिएको छ।