सिद्धलेकका सामुदायिक मेलमिलापकर्ताका लागि दुई दिने पुनर्ताजगी तालिम सुरु

321 पटक पढिएको

२७ चैत्र २०८२, शुक्रबार १५:०५ सम्पादक: धादिङ न्यूज

धादिङ—सिद्धलेक गाउँपालिकामा रहेका सामुदायिक मेलमिलापकर्ताहरुका लागि दुई दिने पुनर्ताजगी तालिम आजदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको छ। स्थानीय स्तरमा हुने विवाद समाधानमा मेलमिलापकर्ताहरुको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले सिद्धलेक गाउँपालिका न्यायिक समितिको आयोजनामा यो तालिम सञ्चालन गरिएको हो।

तालिमको औपचारिक समुद्घाटन गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सविता अर्यालले पानसमा बत्ती बालेर गर्नुभयो। उद्घाटन मन्तव्य राख्नुहुँदै उपाध्यक्ष अर्यालले गाउँ समाजमा हुने सानातिना विवादलाई स्थानीय स्तरमै आपसी समझदारीमा समाधान गर्न मेलमिलापकर्ताहरुको ठूलो योगदान रहने चर्चा गर्नुभयो। उहाँले न्यायिक समितिमा आउने विवादहरुलाई मेलमिलापको माध्यमबाट टुङ्ग्याउँदा दुवै पक्षको जित हुने र सामाजिक सद्भाव कायम रहने भएकाले मेलमिलापकर्ताहरुले आफ्नो सीप र दक्षतालाई सधैं अद्यावधिक राख्नुपर्नेमा जोड दिनुभयो।

चैत २७ र २८ गतेसम्म चल्ने यस तालिममा अधिवक्ता रामकृष्ण अधिकारीले मुख्य प्रशिक्षकको रुपमा सहजीकरण गरिरहनुभएको छ। प्रशिक्षणका क्रममा मेलमिलापका सिद्धान्त, कानुनी प्रक्रिया, विवाद पहिचान र समाधानका नयाँ उपायहरुका बारेमा प्रयोगात्मक अभ्यास समेत गराइने बताइएको छ। तालिमले मेलमिलापकर्ताहरुमा रहेका द्विविधाहरु हटाउन र उनीहरुको कार्यक्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

उद्घाटन कार्यक्रममा न्यायिक समिति सदस्यहरु सानु गिरी र बुधे घले, गाउँपालिकाका निमित्त कार्यालय प्रमुख टिकाराम अधिकारी तथा सूचना प्रविधि अधिकृत आशिष रिमाल लगायतको विशेष आतिथ्य रहेको थियो। कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाबाट आएका सामुदायिक मेलमिलापकर्ताहरुको उत्साहजनक सहभागिता रहेको छ।

यस तालिमले मेलमिलापकर्ताहरुको ज्ञान र सीपमा निखार ल्याउँदै स्थानीय स्तरमा न्याय सम्पादनलाई थप पारदर्शी, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको न्यायिक सहजकर्ता रामचन्द्र अधिकारीले जानकारी दिनुभयो। सिद्धलेक गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन बमोजिम न्यायिक समितिमार्फत विवाद समाधानका कार्यलाई प्राथमिकता दिँदै आएको छ।