क्रोएसियामा मृत भेटिएकी धादिङ सेमजोङकी आनन्दा तामाङको मृत्यु प्रकरणमा नयाँ मोड
1119 पटक पढिएको
काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्रोएसिया पुगेकी २२ वर्षीया नेपाली युवती आनन्दा तामाङको रहस्यमय मृत्युको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय, काठमाडौँमा किटानी जाहेरी दर्ता गरिएको छ। मृतकका काका महिन्दो साम्नेर बल बहादुर तामाङले नवलपरासीका जीत बहादुर गुरुङ विरुद्ध आत्महत्या दुरुत्साहन, ठगी तथा यौन शोषणको मुद्दा चलाउन माग गर्दै जाहेरी दिनुभएको हो।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ३ स्थायी घर भएकी आनन्दा विगत दुई वर्षदेखि क्रोएसियाको जाग्रेब सहरमा कार्यरत थिइन्। उनी सन् २०२६ अप्रिल ४ (२०८२ चैत २१) मा आफ्नै होस्टेलमा मृत फेला परेकी थिइन्।
जाहेरीमा उल्लेख भए अनुसार, नवलपरासी गैँडाकोट-३ घर भई क्रोएसियामा ट्याक्सी चालकका रूपमा कार्यरत ४२ वर्षीय जीत बहादुर गुरुङले आफू विवाहित भएको र नेपालमा श्रीमती तथा छोरा रहेको तथ्य लुकाएर आनन्दासँग नजिकको सम्बन्ध गाँसेका थिए। गुरुङले सहयोग गर्ने बहानामा आनन्दाको भावनासँग खेल्दै विवाहको झुटो आश्वासन दिई लामो समयदेखि भावनात्मक र यौन शोषण गर्दै आएको तथ्य खुलेको जाहेरीकर्ता महिन्दोले बताउनु भयो ।
जाहेरीमा उल्लेख भएको बिबरण अनुसार आरोपित गुरुङ आफ्नो व्यक्तिगत स्वार्थ पूरा गरिसकेपछि नेपाल फर्किएको र त्यसलगत्तै आनन्दा सँग सम्पर्कविहीन भएका थिए । यही धोका र मानसिक दबाबका कारण उनी गम्भीर मानसिक तनावमा परेकी थिइन्।
क्रोएसियामा रहेका आनन्दाका साथीहरूका अनुसार उनको गुरुङ बाहेक अन्य कसैसँग त्यस्तो विशेष सम्बन्ध थिएन। गुरुङले नेपाल आएपछि एकाएक सम्पर्कविच्छेद गरिदिएका कारण आनन्दा डिप्रेसनमा गएको वा अन्य कुनै गम्भीर परिस्थितिको सिकार भएको आशंका गरिएको छ।
घटनाको प्रकृति थप रहस्यमय तब बन्यो जब गुरुङ नेपाल आइपुगेको दुई दिनपछि मात्र आनन्दाको शव फेला पर्यो। मृत्यु हुनुअघि आनन्दाले गुरुङलाई मेसेन्जरमार्फत अन्तिम सन्देश र रुँदै गरेको भिडियो समेत पठाएको भेटिएको आफन्तहरुले वताएका छन् ।
आरोपित गुरुङले प्रारम्भिक सोधपुछमा आफूहरू बीच यौन सम्बन्ध र विवाहको आश्वासन दिएको कुरा स्वीकार गरे पनि, आफूसँग भएका महत्त्वपूर्ण डिजिटल प्रमाण र पुराना संवादहरू भने नष्ट गरिसकेको मृतकका आफन्तहरु बताउँछन् । प्रमाण मेटाउने उनको यो कार्यले घटनामा उनको प्रत्यक्ष संलग्नता रहेको आशंकालाई थप बल पुर्याएको पिडितहरुको भनाई छ ।
हाल मृतकको मोबाइल क्रोएसिया प्रहरीको नियन्त्रणमा रहेको छ। पीडित पक्षले नेपाल र क्रोएसिया प्रहरीबीच समन्वय गरी मोबाइलको फरेन्सिक ल्याब टेस्ट, पोस्टमार्टम रिपोर्ट र डिजिटल च्याटहरूको विस्तृत अनुसन्धान गर्न माग गरेका छन्।
“राज्यले एक नेपाली नागरिक र परिवारले एक सन्तान गुमाएको छ, यो केवल आत्महत्या नभई मानसिक रूपमा विक्षिप्त बनाएर गरिएको हत्या हो,” पीडित परिवारको ठहर छ। आरोपित गुरुङ हाल नेपालमै रहेको र प्रमाण नष्ट गर्ने वा फरार हुने सम्भावना रहेकाले उनलाई तुरुन्त नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउन परिवार, साथीभाइ र आफन्तले प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन्। जाहेरीका साथमा मृतकको राहदानी, पुरुषको नागरिकता र उनीहरू बीच भएका संवादका अन्य प्रमाणहरू समेत पेश गरिएको छ।
सम्पूर्ण प्रमाणहरू गुरुङको मोबाइलमा हुन सक्ने र अनुसन्धानको मुख्य कडी नै त्यही भएकोले नेपाल प्रहरीले तुरुन्तै उनलाई नियन्त्रणमा लिएर गहिरो छानबिन गर्नुपर्ने माग पीडित पक्षको छ।









