रूखले किच्दा धादिङ ज्वालामुखीका सन्दीप मगरको मृत्यु

159 पटक पढिएको

८ बैशाख २०८३, मंगलवार ०७:२० सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ मा सोमबार बेलुका आएको  हावाहुरीले एक जनाको ज्यान लिएको छ।  तीव्र गतिको हावाहुरीका कारण रूख ढल्दा स्थानीय ४७ वर्षीय सन्दीप मगरको मृत्यु भएको हो। बेलुकाको समयमा हुरीले रूख ढालेपछि  मगर  घाइते भएका थिए। घटना लगत्तै स्थानीय बासिन्दाहरूले उद्धार गरी उनलाई तत्काल उपचारका लागि धादिङ अस्पताल पुर्‍याएका भए पनि उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका हुन्।

हावाहुरीले सो क्षेत्रको  अन्य भौतिक संरचनाहरूमा पनि क्षति पुगेको स्थानीयले बताएका छन्। यस दुखद घटनापछि अहिले ज्वालामुखी गाउँपालिका–४ मा शोकको माहोल छाएको छ। अचानक आइलागेको यो प्राकृतिक विपत्तिले गाउँलेहरूलाई स्तब्ध बनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले घटनाको पुष्टि गर्दै मृतकको शव परीक्षणका लागि अस्पतालमै राखिएको र घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।