नयाँ बसपार्क नगए धादिङका सवारीलाई काठमाडौँ छिर्न निषेध गरिँदै: महानगरको अन्तिम चेतावनी
415 पटक पढिएको
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जथाभाबी पार्किङ र सडकबाटै यात्रु चढाउने प्रवृत्ति रोक्न नयाँ बसपार्कबाट मात्र सवारी साधन सञ्चालन गर्न दिएको निर्देशन कार्यान्वयनमा धादिङका यातायात व्यवसायीले चरम अटेरी देखाएका छन्। महानगरले एकीकृत यातायात प्रणाली लागू गर्न दिएको समय सीमालाई धादिङतर्फ चल्ने कम्पनीहरूले खुल्ला चुनौती दिएपछि महानगरले अब अन्तिम तीन दिनको अल्टिमेटम जारी गरेको छ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समीक्षा बैठकमा धादिङतर्फ यातायात सञ्चालन गर्ने कम्पनीहरूको व्यवहारप्रति गम्भीर आपत्ति जनाइएको छ। बैठकमा दिइएको जानकारी अनुसार नुवाकोटतर्फ चल्ने यातायात कम्पनीहरू सम्पर्कमा आएर नियम पालना गर्न सहमत भए पनि धादिङतर्फ चल्ने कम्पनीहरूले भने सूचनाको पूर्ण अवज्ञा गरिरहेका छन्। महानगरको नियमलाई टेरपुच्छर नलगाउने यस्ता कम्पनीहरूलाई तीन दिनभित्र नयाँ बसपार्कको एकीकृत प्रणालीमा आउन अन्तिम मौका दिइएको छ। यदि यो अवधिमा पनि अटेरी कायम रहेमा महानगर प्रहरी र नेपाल प्रहरीको समन्वयमा कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
कार्यवाहक प्रमुख डंगोलले महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग मिलेर तत्काल अनुगमन तीव्र पार्न निर्देशन दिनुभएको छ। सडक सुरक्षा र सहरी व्यवस्थापनसँग जोडिएको यो विषयमा कुनै पनि बहानामा सम्झौता नगर्न महानगर दृढ देखिएको छ। बैठकमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले जनशक्तिभन्दा प्रविधिबाट निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो भने प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गुण्डागर्दी विरुद्धको अभियानले अनधिकृत काम गर्नेहरूको मनोबल गिर्दै गएको जानकारी गराउनुभयो।
प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार काठमाडौँबाट दैनिक औसत ७०० सार्वजनिक सवारी साधन बाहिरिने गरेका छन्। तीमध्ये करिब ५० प्रतिशत अर्थात् ३५० वटा सवारी साधन अहिले पनि बसपार्क बाहिरै सडकमा पार्किङ गर्ने र यात्रु चढाउने-ओराल्ने गर्छन्। यही कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडक अनुशासन पालना गराउन महानगर र ट्राफिक प्रहरीबीचको समन्वयलाई अझै मजबुत बनाउनुपर्ने बताउनुभयो।
ल्होत्से बहुउद्देश्यीय प्रालिका अनुसार १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ७५० वटा सवारी साधन एकैपटक व्यवस्थापन गर्न सकिने क्षमता छ। हाल ५७ वटा कम्पनीका सवारी साधन यहाँबाट सञ्चालन भइरहेका छन्। शुल्कको हकमा लामो दूरीका सवारीले ९ घण्टा पार्किङ गरेको ४५० रुपैयाँ र मध्यम तथा छोटो दूरीका माइक्रो बसले २२० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ।
धादिङका व्यवसायीले सडकबाटै मनपरी यात्रु चढाउने र बसपार्क छिर्न नमान्ने प्रवृत्तिले गर्दा यात्रुहरू ठगिने र ट्राफिक जाम बढ्ने समस्या देखिएको छ। महानगरले दिएको यो अन्तिम ३ दिनको समय सीमाभित्र धादिङका यातायात व्यवसायी सुध्रिएलान् या कारबाही भोग्लान्, त्यो भने हेर्न बाँकी छ।







