सरकारी प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा टङ्ककुमार श्रेष्ठ पक्राउ
172 पटक पढिएको
काठमाडौँ, वैशाख १२ । सार्वजनिक खरिद अनुगमन कार्यालयको सफ्टवेयर प्रणालीमा अनाधिकृत पहुँच पुर्याई ठेक्काका महत्वपूर्ण विवरणहरू हेरफेर गरेको गम्भीर आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे र धादिङ पुछारवजार घर भएका निर्माण व्यवसायी टङ्ककुमार श्रेष्ठ पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार उनीहरूलाई काठमाडौँबाट नियन्त्रणमा लिएको हो। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा पाण्डे र भीषण कन्ट्रक्सनका सञ्चालक श्रेष्ठसहित अन्य व्यक्तिहरू समेत रहेका छन्।
पक्राउ परेका टङ्ककुमार श्रेष्ठ धादिङको पुछारबजार निवासी हुन् भने उनी सदरमुकाम धादिङबेसीस्थित एकमात्र पेट्रोल पम्पका सञ्चालक तथा स्थापित निर्माण व्यवसायी समेत हुन्। उनीहरूमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्का प्रक्रिया अन्तर्गत आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै प्रणालीभित्र छिरेर डकुमेन्टहरू परिवर्तन गरेको अभियोग लागेको छ। यसअघि साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भए पनि हाल उनीहरूमाथि सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यस प्रकरणमा अहिलेसम्म जम्मा ९ जना शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरिसकिएको छ। सरकारी बोलपत्र (टेन्डर) को गोपनीयता भङ्ग गरी राज्यको खरिद प्रणालीमै हस्तक्षेप गर्ने गरी भएको यो ठगी प्रकरणलाई प्रहरीले निकै गम्भीरताका साथ लिएको छ। सीआईबीले नियन्त्रणमा लिएका सबैमाथि प्राविधिक प्रमाणहरूको आधारमा सूक्ष्म अनुसन्धान भइरहेको र यसमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जानकारी दिएको छ।







