आजको मौसम पूर्वानुमान: पहाडी भू–भागमा वर्षा र हिमपात, तराईमा ‘लु’ को जोखिम

247 पटक पढिएको

१३ बैशाख २०८३, आईतवार ०६:४५ सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

२०८३ बैशाख १३, आइतबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण देशका अधिकांश भू–भागमा मौसममा बदली आउनुका साथै केही स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली (बादल लाग्ने क्रम) रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बागमती प्रदेशका एक–दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने देखिएको छ। तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने आज अत्यधिक गर्मी भई ‘तातो हावा’ (हिट वेभ) चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

रातिको समयमा पनि पहाडी र हिमाली भू–भागमा बादल लाग्ने क्रम जारी रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। तराईका जिल्लाहरूमा भने मौसम आंशिक बदली रहनेछ।

पहाडी क्षेत्रमा हुन सक्ने मेघगर्जन, चट्याङ्ग र वर्षाका कारण कृषि कार्य र यात्रा गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, तराई क्षेत्रमा बढ्दो तापक्रम र तातो हावाबाट बच्न प्रशस्त पानी पिउन र घाममा धेरै नहिँड्न स्वास्थ्य विज्ञहरूको सुझाव छ।