चेपाङ बाहुल्य क्षेत्रलाई समेटेर ‘झोरालाङ गाउँपालिका’ घोषणा गर्न माग, मुख्यमन्त्रीलाई ध्यानाकर्षण-पत्र
269 पटक पढिएको
हेटौँडा, -नेपाल चेपाङ सङ्घले बागमती प्रदेशका चार जिल्लामा रहेका चेपाङ बाहुल्य क्षेत्रहरूलाई समेटेर ‘चेपाङ संरक्षित क्षेत्र’ र नयाँ स्थानीय तह घोषणा गर्न माग गरेको छ। सङ्घले बुधबार बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई भेट्दै ऐतिहासिक र भाषिक पहिचानका आधारमा सीमाना हेरफेर गर्न ध्यानाकर्षण गराएको हो।
सङ्घका अध्यक्ष एवं संविधान सभा सदस्य गोविन्दराम चेपाङका अनुसार, चितवनका दुई नगरपालिका र एक गाउँपालिकाका चेपाङ बाहुल्य वडाहरूलाई छुट्याएर ‘झोरालाङ गाउँपालिका’ बनाउन प्रस्ताव गरिएको छ। झोरालाङको अर्थ चेपाङ भाषामा ‘अभिवादन’ वा ‘नमस्कार’ भन्ने हुन्छ।
यसका लागि चितवनको इच्छाकामना गाउँपालिका (वडा नं. १ र २), कालिका नगरपालिका(वडा नं. १० र ११) र राप्ती नगरपालिका (वडा नं. १०, ११, १२ र १३) लाई समेट्नुपर्ने माग गरिएको छ।
त्यसैगरी, धादिङ जिल्लाको सन्दर्भमा बेनीघाट रोराङ गाउँपालिकाका वडा नं. १, २, ६, ८, ९, १० र गजुरी गाउँपालिकाका वडा नं. ३ र ४ लाई समेटेर चेपाङ पहिचान झल्किने गरी ‘रोराङ गाउँपालिका’ नामाकरण र सीमांकन गर्न माग गरिएको छ।
नेपालको संविधान २०७२ को धारा ५६ (५) मा विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिने व्यवस्था छ। सोही बमोजिम स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार अहिले सरकारले स्थानीय तहको संख्या र सीमाना हेरफेरको गृहकार्य गरिरहेका बेला चेपाङ समुदायले आफ्नो भूगोल र पहिचानलाई प्राथमिकता दिन माग गरेका हुन्।
अध्यक्ष गोविन्दराम चेपाङले भन्नुभयो, “हामीले चेपाङ समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि छुट्टै कार्यविधि बनाएर चितवन, मकवानपुर, गोरखा र धादिङका चेपाङ बाहुल्य क्षेत्रलाई ‘चेपाङ संरक्षित क्षेत्र’ घोषणा गर्न माग गरेका छौँ।”
सङ्घले मकवानपुरको राक्सिराङ गाउँपालिकालाई अन्य कुनै तहमा गाभ्नु परेमा पनि यसको ऐतिहासिक नाम ‘राक्सिराङ’ नै कायम राख्न सुझाव दिएको छ। चेपाङ समुदायको ९० प्रतिशत जनसंख्यालाई समेट्ने गरी एउटै निर्वाचन क्षेत्र वा स्थानीय तह बनाउन सके उनीहरूको पहुँच राज्यको मूलधारमा पुग्ने सङ्घको विश्वास छ।
ध्यानाकर्षण-पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले चेपाङ समुदायको मागप्रति प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो। उहाँले सीमान्तकृत चेपाङ समुदायको भाषा र संस्कृतिको जगेर्ना गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै यस विषयमा आवश्यक छलफल र समन्वय गर्ने आश्वासन दिनुभयो।
टोलीमा सङ्घका महासचिव सन्तबहादुर चेपाङ, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर प्रजा, प्रदेश अध्यक्ष खुशीलाल चेपाङ, मकवानपुरका जिल्ला अध्यक्ष महेश चेपाङ लगायतको उपस्थिति रहेको थियो।








https://shorturl.fm/PhNbj
https://shorturl.fm/217dD
https://shorturl.fm/icRFP
https://shorturl.fm/8BGGj
https://shorturl.fm/A6NUb
https://shorturl.fm/hVV8v
https://shorturl.fm/slu4C