कम्बोडियामा ज्यान गुमाएका धादिङ धुनीवेशीका सन्तोष राईको शव नेपाल ल्याउन आर्थिक अभाव
303 पटक पढिएको
धादिङ, ३ जेठ । रोजगारीको सिलसिलामा कम्बोडिया पुगेका धादिङका एक नेपाली युवाको दुःखद निधन भएको छ। धादिङको धुनीवेशी नगरपालिका वडा नं. ९ निवासी सन्तोष राईको कम्बोडियाको राजधानी फ्नोमपेन्हस्थित अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। उनको निधनको खबरले यतिबेला परिवार, आफन्त तथा सिङ्गो धुनीवेशी क्षेत्र शोकमा डुबेको छ।
सन्तोष रोजगारीको खोजीमा गत वर्ष असारमा मात्रै कम्बोडिया पुगेका थिए। परिवारको आर्थिक अवस्था सुधार गर्ने, बुढेसकालका बाबुआमालाई सहारा दिने र आफ्ना सपना पूरा गर्ने उद्देश्यले परदेशिएका उनी अन्ततः विदेशी भूमिमै जीवन गुमाउन बाध्य भए।
उपलब्ध मृत्यु प्रमाणपत्र अनुसार सन्तोष राईलाई गत मे १२ तारिखका दिन कम्बोडियास्थित क्याल्मेट अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। उनलाई ‘हेमोरेजिक स्ट्रोक’ अर्थात् मस्तिष्कघात भएपछि गम्भीर अवस्थामा अस्पताल लगिएको अस्पतालको पत्रमा उल्लेख छ। उपचारकै क्रममा मे १४ तारिख दिउँसो उनको मृत्यु भएको अस्पतालले प्रमाणित गरेको कागजमा उल्लेख गरिएको छ।
मृत्यु प्रमाणपत्रमा उनी नेपाली नागरिक भएको तथा मस्तिष्कघातका कारण ‘ब्रेन डेथ’ भएपछि निधन भएको स्पष्ट उल्लेख गरिएको छ। उक्त घटनाले परिवार मात्र होइन, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई समेत स्तब्ध बनाएको छ।
यसैबीच नेपाल राजदूतावास बैंककले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्र अनुसार सन्तोष केही महिनादेखि कम्बोडियामा बस्दै आएको र भिसा अवधि सकिएपछि ओभरस्टे जरिवाना तिरेर नेपाल फर्किने तयारीमा रहेको जानकारी दिएको छ।
दूतावासको पत्र अनुसार स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा ठूलो रकम खर्च हुने अवस्था बनेपछि त्यहाँ रहेका गैरआवासीय नेपाली समुदायले समेत सहयोगको पहल गरेका थिए। तर, उपचारकै क्रममा उनको ज्यान गएको हो।
पत्रमा परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार तथा शव व्यवस्थापनमा समस्या भएको उल्लेख गर्दै सम्बन्धित निकायलाई सहयोगका लागि अनुरोध गरिएको छ।
विदेशी भूमिमा निधन भएपछि शव नेपाल ल्याउने प्रक्रिया अत्यन्त जटिल र खर्चिलो हुने गरेको छ। पारिवारिक स्रोतका अनुसार सन्तोष राईको शव नेपाल ल्याउन कानुनी प्रक्रिया, अस्पताल खर्च, कागजी काम तथा हवाई यातायात खर्चसहित कम्तीमा १० हजार अमेरिकी डलर अर्थात् करिब १३ लाख रुपैयाँभन्दा बढी रकम आवश्यक पर्ने बताइएको छ।
पहिले नै आर्थिक रूपमा कमजोर परिवार अहिले ठूलो संकटमा परेको छ। कमाउने मुख्य व्यक्ति नै गुमाएपछि परिवार भावनात्मक र आर्थिक रूपमा पूर्ण रूपमा विक्षिप्त बनेको धुनीवेशी ९ का वडा सदस्य विक्रमजङ्ग राना बताउनुहुन्छ।सन्तोषका बुबाको पनि १ महिना अघि मात्रै मृत्यु भएको थियो। अहिले सन्टोष पनि बितेको खबरले घर परिवार मात्रै होइन समाजनै स्तब्ध भएको वडा सदस्य रानाले बताउनु भयो ।
घरको अवस्था सुधार गर्ने सपना बोकेर परदेशिएका छोरा अब बाकसभित्र फर्किने अवस्था आएपछि वृद्ध आमा र श्रीमतीको आँसु रोकिएको छैन घटना सुनेको दिन देखि उनिहरु भक्कानिएका छन्। श्रीमती जुनु राईको सिन्दूर पुछिएको छ भने परिवारका सदस्यहरू अन्तिम पटक उनको अनुहार हेर्न पाउने आशामा बसेका छन्।
परिवारले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्त, साथीभाइ तथा सहयोगी मनहरूमा मानवीय सहयोगका लागि हार्दिक अपिल गरेको छ।
“तपाईंहरूको सानो सहयोगले पनि एउटा शोकाकुल परिवारलाई ठूलो राहत मिल्न सक्छ,” परिवारको आग्रह छ।
वडा सदस्य विक्रमजङ्ग रानाले देश विदेशमा रहनु भएका सबैलाई सहयोग गर्न अपिल गर्नुभएको छ। “दुःखमा नै नेपालीले नेपालीलाई हेर्ने हो। आज सन्तोषको परिवार असाध्यै ठूलो पीडामा छ। उहाँलाई आफ्नै जन्मभूमिमा ल्याएर अन्तिम संस्कार गर्न सबैले सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु।”
सहयोग गर्न इच्छुक महानुभावहरूले मृतक सन्तोष राईकी श्रीमती जुनु राईको नाममा रहेको बैंक खातामा सहयोग रकम पठाउन सक्नुहुनेछ।
“मानवता नै सबैभन्दा ठूलो धर्म हो।” विदेशी भूमिमा ज्यान गुमाएका एक नेपाली युवालाई आफ्नै माटोमा फर्काउन अहिले सबैको साथ, सहयोग र सद्भाव आवश्यक देखिएको वडा सदस्य रानाको भनाइ छ।







