रसुवामा करिब ३७ लाख मूल्य बराबरको अवैध भेप बरामद, धादिङका दुई सहित आठ जना पक्राउ
144 पटक पढिएको
धुन्चे, रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरी टोलीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. १ दलफेदीमा छापा मार्दा करिब ३७ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो।
स्थानीय ४४ वर्षीया मम्मया तामाङको घरमा रीतपूर्वक खानतलासी गर्दा कोठाभित्र प्लाष्टिकको बोराभित्र ६ वटा कार्टुनमा लुकाई छिपाई राखिएको अवस्थामा १ हजार २२५ थान ‘ELFBAR ICE KING’ ब्राण्डको भेप फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त भेपको बजार मूल्य करिब ३६ लाख ७५ हजार रुपैयाँ रहेको छ।
यस अवैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले धादिङ जिल्लाका दुई जना युवालाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ३ का ४० वर्षीय केश बहादुर गुरुङ र २५ वर्षीय सहिन गुरुङ रहेका छन्। उनीहरूसँगै रसुवा गोसाइँकुण्डका मम्मया तामाङ, राज कुमार तामाङ र छो माया तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी, सोही घटनामा संलग्न रहेको भन्दै बाजुरा घर भई काठमाडौं बस्ने २५ वर्षीय सागर खत्री, नुवाकोट घर भई काठमाडौं बस्ने २७ वर्षीय सुबास तामाङ र ओखलढुङ्गा घर भई काठमाडौं बस्ने २६ वर्षीय नेत्र बहादुर थापा मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी दिनुभएको छ। चीनसँगको सीमानाकाबाट भन्सार छली गरी ल्याइएको उक्त सामग्रीबारे प्रहरीले थप खोजी कार्य तीव्र पारेको छ।







