अवैध ८० केजी क्रिष्टलसहित रुबीभ्यालीबाट फुन्चो तामाङ पक्राउ
280 पटक पढिएको
धादिङवेशी । धादिङको रुबीभ्याली गाउँपालिकामा प्रहरीले ठूलो परिमाणको अवैध क्रिष्टल (बहुमूल्य पत्थर) सहित एक जनालाई पक्राउ गरेको छ। रुबीभ्याली गाउँपालिका-३ सेक्टर चौताराबाट करिब ८० केजी अवैध क्रिष्टलसहित स्थानीय ३५ वर्षीय फुन्चो तामाङ पक्राउ परेका हुन्।
रुबीभ्याली गाउँपालिकाबाट धादिङबेँसीतर्फ अवैध वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचना पाएपछि प्रहरी चौकी सेर्तुङबाट विशेष टोली खटिएको थियो। प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्लास्टिकका चार वटा बोराभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त क्रिष्टल फेला पारेपछि तामाङलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार बरामद गरिएको अवैध क्रिष्टल र पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको छ। हिमाली क्षेत्रबाट अवैध रूपमा उत्खनन र संकलन गरी यस्ता बहुमूल्य पत्थरहरू बाहिर लैजाने क्रममा प्रहरीले उनलाई फेला पारेको हो।







