मनसुनजन्य विपद्बाट नागरिक जोगाउन त्रिशूली नदीमा सुरक्षाकर्मीको विशेष उद्धार अभ्यास
192 पटक पढिएको
धादिङ ।वर्षायाम नजिकिएसँगै हुनसक्ने सम्भावित बाढी, पहिरो जस्ता मनसुनजन्य विपद्बाट नागरिकको ज्यान जोगाउन धादिङमा सुरक्षा निकायले आफ्नो तयारी तीव्र पारेका छन्।
यसै सन्दर्भमा आज जेठ ७ गते धादिङको गजुरी गाउँपालिका वडा नं. ५ घाटवेशीस्थित त्रिशूली नदीमा मनसुनजन्य विपद् उद्धार सम्बन्धी एक विशेष संयुक्त अभ्यास (सिमुलेशन एक्सरसाइज) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङको अगुवाइमा भैरवी गण गजुरी ब्यारेक, जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी बल नेपालको संयुक्त सहकार्यमा यो उद्धार अभ्यास सञ्चालन गरिएको हो।
मनसुन सुरु भएपछि नदीमा आउने बाढी, कटान र आकस्मिक दुर्घटनामा नागरिकको उद्धार कसरी छिटो र प्रभावकारी रूपमा गर्न सकिन्छ भनेर सुरक्षाकर्मीहरूले त्रिशुली नदीमा प्रत्यक्ष रूपमा उद्धारको प्रयोगात्मक अभ्यास गरेर देखाएका थिए। विपद्को घडीमा सबै संयन्त्र कसरी एकीकृत भएर खटिने भन्ने विषयलाई यो अभ्यासले प्रस्ट पारेको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको मुख्य आतिथ्यता रहेको थियो भने गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको पनि विशेष उपस्थिति थियो। उक्त अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी बलका अधिकारी एवं जवानहरू, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूका साथै जिल्लाका अन्य सरोकारवाला कार्यालय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको ठूलो उपस्थिति रहेको थियो। वर्षातको समयमा आइपर्ने प्राकृतिक विपद्मा उद्धार टोलीलाई तयारी अवस्थामा राख्न र स्थानीयस्तरमा सचेतना फैलाउन यो कार्यक्रम निकै प्रभावकारी हुने विश्वास लिइएको छ।







