युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

253 पटक पढिएको

९ जेष्ठ २०८३, शनिबार ०७:०८ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ, ९ जेठ । नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व तथा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं १९६९ जेठ ९ गते ओखलढुङ्गाको ओखलढुङ्गा बजारमा जन्मिनुभएका श्रेष्ठले नेपाली साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्‍याउनुभएको छ।

बहुभाषी कविका रूपमा परिचित श्रेष्ठले नेपाली र नेपाल (नेवारी) दुवै भाषामा उत्कृष्ट सिर्जनाहरू पस्कनुभएको थियो। नेपाली साहित्यमा ‘युगकवि’ र नेपाल भाषामा ‘कविरत्न’का रूपमा सम्मानित उहाँले कविता, गीत, खण्डकाव्य, नाटक, कथा, निबन्ध र यात्रा संस्मरण लगायतका विधामा कलम चलाउनुभएको थियो। उहाँका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’ र ‘जूनकीरी’ जस्ता रचनाहरू पाठकमाझ अत्यन्तै लोकप्रिय र चर्चामा छन्।

उहाँका प्रकाशित कृतिहरूमध्ये ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ जस्ता कविता सङ्ग्रह तथा ‘उर्वशी’, ‘ज्यानमारा शैल’ र ‘आँशु’ लगायतका खण्डकाव्यहरू नेपाली साहित्यका अमूल्य निधि मानिन्छन्। साहित्य साधनाका क्रममा उहाँले त्रिभुवन पुरस्कार (२०२७), पृथ्वी प्रज्ञा पुरस्कार (२०४५), रत्नश्री सुवर्ण पदक, गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्ट लगायतका प्रतिष्ठित मान-सम्मान र पुरस्कारहरू प्राप्त गर्नुभएको थियो। नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्‍याउनुहुने यी महान् स्रष्टाको २०४९ साल जेठ २२ गते निधन भएको थियो।