सिम्ले दुर्घटना: गोरखाका २५ वर्षीय आदर्श श्रेष्ठको मृत्यु

169 पटक पढिएको

१० जेष्ठ २०८३, आईतवार १३:२० सम्पादक: धादिङ न्यूज

धादिङ, १० जेठ  । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–७ निवासी २५ वर्षीय आदर्श श्रेष्ठ रहेका छन् ।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४९५५ नम्बरको डिब्बा ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई तत्कालै उद्धार गरी उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कलंकीस्थित नेपाल नेशनल अस्पतालमा सारिएको थियो । उपचारकै क्रममा शनिबार बिहान ८:२३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक धादिङको गजुरी गाउँपालिका–६ बन्छेटार निवासी ५५ वर्षीय पशुराम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।