धादिङ, १० जेठ – धादिङको रुबिभ्याली गाउँपालिका–३ स्थित गुफाभिरमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
आज दिउँसो करिब १२ः३० बजे रुबिभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आफै अनियन्त्रित भई करिब २०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा साइकल यात्री काठमाडौं सुकेधारा बस्ने अन्दाजी ५२ वर्षीय प्रशान्त पाण्डे गम्भीर घाइते भएका हुन्।
घटनापछि प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरी टोली, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा जोखिमपूर्ण अवस्थामा रहेका घाइतेको उद्धार गरिएको थियो। घाइते पाण्डेलाई आधारभूत स्वास्थ्य चौकी सेर्तुङमा प्राथमिक उपचारपछि थप उपचारका लागि अल्टिच्युड एयर को हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।